नेपालमा कोरोना संक्रमणदर वृद्धि भई २३.६ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा बुधबार ७.३ प्रतिशतले संक्रमणदर बढेको छ।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ९ हजार ५१ र एन्टिजेन विधिबाट ३ हजार ९८५ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जना संक्रमित भएको पाइएको छ।
थपसहित नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। जसमध्ये १० हजार ८ सय १० जना होम आइसोलेसनमा, ८ सय ८० जना संस्थागत आइसोलेसन र ८७ जना आइसियुमा छन्।
आइसियुमा उपचार भइरहेका मध्येमा ३३ जना भेन्टिलेटरमा छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ।
नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गरेका हुन्।
दोस्रो लहरपछि अत्यन्त कम संख्यामा संक्रमित देखिएको अवस्थामा केही दिनयता संक्रमणदर बढ्दै गएको छ। यसलाई आधार मानेर जनस्वास्थ्यविद्ले तेस्रो लहर फैलिन सक्ने बताएका हुन्। जनस्वास्थ्यविद् कोइरालाले भने, ‘छोटो अवधिमा धेरै मानिस संक्रमित हुनु भनेको तेस्रो लहरको संकेत हो, तेस्रो लहर हो कि होइन भन्ने प्रस्ट हुन केही दिन पर्खिनुपर्छ।’ तर जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नसके संक्रमणदर घटाउँदै नियन्त्रणमा ल्याउन सकिने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया