थ्री स्टारको अपराजित यात्रा छैटौँ खेलसम्म, शेर्पा पराजित

लोकपथ
98
Shares

काठमाडौं । हिमालयन शेर्पा क्लबमाथि २-० को जितसहित थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म पुर्याएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न एक मात्रै खेलमा थ्री स्टारलाई जिताउन रितिक कुमार खड्का र घानिफो अन्सुमानाले गोल गरे ।

५७ औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काको प्रहार क्लियर गर्ने क्रममा अमृत श्रेष्ठको प्रहार आफ्नै गोलपोस्टको दिशा लिएपछि रेफ्रीले रितिकको गोल मान्यता दिए ।

९० मिनेटपछि १० मिनेटको इन्जुरी समयमा बिदेशी खेलाडी घानिफोले लाकेन लिम्बूको पास सदुपयोग गर्दै विजयी गोल गरे ।

जितपछी थ्री स्टार आठ खेलमा १३ अंकसहित पाँचौ स्थानमा उक्लिदा समान खेलमा ११ अंक बटुलेको हिमालयन शेर्पा छैटौं स्थानमा झरेको छ ।

तेस्रो चरणमा सातदोबाटो युथसंग अप्रत्याशित नतिजापछी लगातार चार खेल बराबरी खेलेको थ्री स्टार सातौ चरणमा जावालाखेल युथ क्लबमाथिको जितसहित लयमा फर्किएको थियो । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।

पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हिमालयन शेर्पा भने चौथो खेलमा भने पराजित भयो ।

खेलमा दुबै टोलीले औषत प्रदर्शन संगै उतिकै अवसर बनाए ।

यसअघि १९औं मिनेटमा निशान खड्कको क्रसमा आयुस घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो ।

३०औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर फकिएको थियो ।

त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो ।

७३औं मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए  ।

८३औं मिनेटमा हिमालयनका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार प्रिसोले विफल पारेका थिए ।

सोमबार लिगमा एक खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?