काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया