झापा । विद्यालय सफा–सुग्गर र पठनपाठन मैत्री हुनुपर्छ । तर, झापा जिल्लाको पुरानो सदरमुकाम झापा बजारमा रहेको त्रिभुवन आधारभूत विद्यालय यस्तो पाइँदैन । यहाँको वातावरण यस्तो छ कि निकै अस्तव्यस्त छ ।
यो विद्यालयको मैदान साँझ विहान गौचरनजस्तो देखिन्छ । विद्यालयमा कम्पाउण्ड नभएकोले गाउँका पशुवस्तुहरु चरिचरनको थलो बनेको छ विद्यालयको मैदान । दिनभर विद्यार्थीले गाई भैंसी धपाएर पढ्छन् । साँझ फेरि, अवस्था उस्तै हुन्छ ।
साँझमा चौपाया मैदानमा चर्नेमात्र होइनन्, कक्षा कोठामा पुगेर गोब्राउँछन् । गाउँका केटाकेटीहरु पनि कक्षा कोठा खुल्ला देखे कि त्यहाँ गएर दिसा पिसाव गरिदिन्छन् ।
झापा गाउँपालिकाभित्र रहेका तीन गाउँ विकास समितिमध्ये डाघनडुब्बामा घरायसी चर्पी निर्माण भए पनि झापा बजारमा पायक पर्ने ठाउँमा सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र आउनेहरुका लागि पनि पशुपति आधारभूत विद्यालय दिसा पिसाव गर्ने ठाउँ बनेको छ ।
३ सय ६७ विद्यार्थी र शिक्षकका लागि एकमात्र शौचालय छ । त्यो पनि, प्यान फुटेको । यूरिनल छ एउटा, तर ढोका नभएका कारण बाहिरबाट जानेहरुले दिसा गरिदिन्छन् । विद्यालयका छात्रछात्रा दिसा पिसाव गर्नका लागि नजिक घर हुनेहरु घरमै जान्छन्, टाढा घर हुनेहरु छात्राहरु गाउँलेको घरमा पुगेर चर्पी प्रयोग गर्ने अनुमति लिन्छन् । केटाहरु बाहिरै जान्छन् दिसा पिसाव गर्नका लागि ।
कृष्णप्रसाद गणेश गाउँका अगुवा हुन् । उनका छोरा प्रदीप गणेश सीतुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । समुदायले सरसफाइ प्रवद्र्धनका लागि सरसफाइ सप्ताह मनाउने तयारी गरिरहँदा उनले अहिले त्रिभूवन आधारभूत विद्यालयको मैदानलाई आफ्नो आँगनको रुपमा प्रयोग गरिरहेका छन् ।
शनिबार दिनभर थ्रेसर लगाएर मकै छोडाए । विद्यालयको मैदान मकै छोडाउँदा निस्किएको धुलोले भरियो । आइतबार पनि मकै छोडाए र सुकाए । “गाउँका अगुवा हुन्, सार्वजनिक सम्पत्तिलाई आफ्नैजस्तो ठान्छन्”, प्रधानाध्यापक यादवको गुनासो छ, “हामीले यसो नगर्नुहोस् भन्यो भने पनि लागू हुँदैन । बोल्नु र नबोल्नुमा फरक छैन ।”
विद्यालयमा मकै सुकाउनेमात्र होइन । दिउँसो विद्यालय चालु भएकै समयमा गाई बस्तु ल्याएर किला गाढेर छोड्छन् । “गाउँको चौरमा हाम्रा गाई बस्तु चरिचराउन गराउन पनि नपाउनु भन्दै रिसाउँछन्”, प्रधानाध्यापक भन्छन्, “पर्खाल नलगाईकन यहाँको सम्पत्ति नजोगिनेभयो ।”
त्यसो त, यहाँ थप दुई कोठाको एउटा चर्पी ब्लक समेत थियो । तर गाउँलेहरुले ढोका फोरिदिए । ढुंगा हालेर चर्पी बन्द गरिदिए ।
विद्यार्थी भर्ना महाअभियानको क्रममा प्रतिनिधि सभाका सांसद एल.पी. साँवा लिम्बूले यस विद्यालयमा अध्ययन गर्ने ६ बालबालिकाको अभिभावकत्व ग्रहण गरे । त्यसैबेला प्रधानाध्यापक यादवले चर्पीको दुरावस्था देखाए र सुनाए । पर्खाल नलगाईकन विद्यालय जोगाउन नसकिने विन्ती समेत बिसाए । सांसद साँवाले उनको कुरा सुने र डायरीमा नोट गर्न लगाए ।
“म आएको चार वर्ष भयो । मैले यहाँको चर्पी प्रयोग पनि गरेको छैन, चर्पी सफा पनि गरेको छैन”, शिक्षक अञ्जितकुमार यादव भन्छन्, “हामी दिसा पिसाव लागेमा बाहिरै जान्छौं ।”
सीताराम यादव विद्यालयका प्रधानाध्यापक हुन् । उनी यस विद्यालयमा आएको तीन वर्ष भयो । “म आउँदा २५–३० जनाभन्दा विद्यार्थी थिएनन् । विद्यालयको भौतिक संरचना पनि लथालिंग थियो”, प्रधानाध्यापक यादव भन्छन्, “अहिले विद्यार्थी ३ सय ६७ जना पुगेका छन् ।”
विद्यालयमा विद्यार्थी त बढे, तर विद्यार्थीका लागि चर्पी भने बनेन । विद्यालयको मैदानमा रहेको दुई कोठे पुरानो चर्पी मर्मत सम्भार नभएर बन्द भयो । अघिल्लो वर्षमात्र बनेको एउटा शौचालयको समेत प्यान फुटेपछि बन्द भयो । ढोकासमेत नभएको यूरिनलमा बाहिरबाट आउनेहरुले समेत दिसा गरिदिए । “ममात्र हो यहाँ पिसाव गर्ने”, प्रधानाध्यापक यादव भन्छन्, “अरु सबै शिक्षकहरु बाहिरै जानुहुन्छ । विद्यार्थी त सबै बाहिरै जान्छन् ।”
विद्यालयका लागि अर्को चार कोठे ब्लक बनिरहेको छ, तर त्यहाँ पनि चर्पी छैन । पुरानो ब्लकमा रहेको एउटा कोठा गोबर र दिसाले भरिएको छ, तर कोठामा ताल्चा लगाउनेतर्फ कसैको ध्यान पुग्दैन, न त कोही सफा गर्न नै चाहन्छन् । “यहाँ म बाहेक कोही पनि शिक्षक शिक्षिकाहरुले सफा गर्नेतर्फ ध्यान नै दिनुहुन्न”, यादव गुनासो गर्छन्, “म एक्लैले कसरी स्कूल सम्हाल्नु ?”
सञ्चारकर्मी र सरसफाइ अभियानकर्मीहरुले शौचालयमा लगाइएको ताला खोली सफा गर्न थालेपछि प्रधानाध्यापक यादव र एक शिक्षिकाले सफा गर्न साथ दिए । तर अञ्जितकुमार यादव सफा गर्न आएनन् । नेपाल सरकारले आफूलाई पढाउनमात्र पठाएको उनले बताए ।
अभियानकर्मीहरुले विद्यालयको चर्पी खोलेर सफा गरेपछि प्रयोग हुन थालेको प्रधानाध्यापक यादवले टेलिफोनमा बताए । “अहिले प्रयोग भैरहेको छ, तर पर्याप्त छैन”, उनले भने । उता, सरसफाइ अभियानकर्ता दुर्गा गणेशले भने विद्यार्थी दिसा पिसाव गर्न बाहिरै जाने गरेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष जयनारायण साहले समुदायको सरसफाइ प्रवद्र्धनका लागि आफूहरु प्रतिवद्ध भएको बताए । “गाउँपालिकालाई खुल्ला दिसामुक्त बनाउनका लागि आवश्यक रकमको समेत विनियोजन गरेको छु”, अध्यक्ष साहले भने, “आवश्यक पर्छ भने अरु रकम विनियोजन गर्न पनि तयार छु ।”
समुदायका व्यक्तिहरुको सरसफाइप्रतिको दृष्टिकोणको प्रतिविम्व संस्थागत सरसफाइमा समेत देखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया