भाषा संरक्षणमा राज्यको करोडौं लगानी, तर उपलब्धि देखिएन : मन्त्री श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भाषा संरक्षण र प्रवर्द्धनमा गरिएको लगानीको प्रभावकारिता देखिनुपर्ने बताएका छन् ।

भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले स्थानीय भाषाको विकासका लागि करोडौँ रुपैयाँ खर्च गरिरहेको भए पनि त्यसको अपेक्षित प्रतिफल नदेखिएको बताए । उनले भाषा प्रवर्द्धनका कार्यक्रम औपचारिकतामा सीमित हुन नहुने उल्लेख गर्दै वास्तविक उपलब्धि हासिल गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले राज्यले निरन्तर लगानी गरिरहँदा पनि नयाँ पुस्ताले आफ्नै भाषा नजान्ने अवस्था चिन्ताजनक भएको बताए । ‘लगानी भइरहने तर उपलब्धि नदेखिने हो भने त्यो बालुवामा पानी हाल्नुजस्तै हुन्छ,‘उनले भने।

उनले भाषा संरक्षणको जिम्मेवारी केवल सरकारको मात्र नभई परिवार र समाजको पनि भएको उल्लेख गर्दै घर–घर, टोल–टोल र विद्यालय स्तरमै भाषा शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए । आफ्नै सन्तानलाई मातृभाषा सिकाउन नसकेको अनुभव सुनाउँदै उनले व्यवहारिक अभ्यासमा ध्यान दिनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले मन्त्रालयले गरेको लगानीको आधारमा कति व्यक्तिले भाषा र लिपि सिके भन्ने तथ्यांक संकलन र मूल्यांकन गर्न आवश्यक रहेको बताए । उनले बागमती प्रदेशमा नेवा र तामाङ भाषालाई सरकारी भाषाका रूपमा स्थापित गरिएको स्मरण गराउँदै सम्बन्धित ऐनको नियमावली भने ढिलाइ भएको स्वीकारे ।

उनका अनुसार भाषा दिवसकै अवसरमा वैशाख २४ गते नियमावली ल्याउने तयारी गरिए पनि लगातार परेको बिदाका कारण ढिलाइ भएको हो । यद्यपि छिट्टै नियमावली ल्याइने उनले प्रतिबद्धता जनाए ।

यसैगरी, प्रदेशमा आफ्नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले भाषा प्रवर्द्धनका लागि विभिन्न संस्थासँग सहकार्य गर्न सरकार तयार रहेको बताए । आगामी आर्थिक वर्ष २०८३/८४ मा यस क्षेत्रमा थप बजेट व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले स्थानीय भाषाको प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा थप बजेट विनियोजन गर्ने योजना रहेको बताउँदै भाषा दिवसको अवसरमा वैशाख २४ गते भक्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?