काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् ।
उनले एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैँले दण्डित गर्ने दाबी समेत गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद् अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे ।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो । अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीभित्र तर्कवितर्क गर्ने रहेको बताए ।
अध्यक्ष भट्टराईले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया