गगन र विश्वप्रकाशलाई बधाई दिँदै पौडेलले भने, ‘ कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु ’

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापालाई बधाई दिएका छन् ।

महामन्त्रीमा पराजयपछि विजयी भएका दुई नेतालाई बधाई दिँदै पार्टीलाई गतिशील बनाउन थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीलाई नयाँ उचाइमा पुर्याउने अवसरको ढोका खोलिएको संकेत गर्दै नेता पौडेलले भनेका छन्, ‘ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी हुनुभएका गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई हार्दिक बधाई एवम् शुभकामना ।’ उनले भनेका छन्,‘साथीहरुको अपार माया र साथले प्राप्त परिणामले नेपाली कांग्रेसको गतिशीलता खोजी रहेका लाखौं कार्यकर्ता र आम जनताका लागि नयाँ इतिहास निर्माण गर्ने अवसर दिलाएको छ । यो प्राप्त अवसर प्रति म अत्यन्तै खुशी छु । कांग्रेस रुपान्तरणको यस अभियानमा सम्पूर्ण साथीहरूलाई मेरो साथ र सहयोग रहने वचनबद्धता व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्दछु । कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु । आगामी दिनमा मेरो सम्पूर्ण प्रयत्न पार्टीलाई वैचारिक र सांगठनिक रुपमा अझै सशक्त बनाउन केन्द्रित हुनेछ ।’

आफूहरुले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने प्रक्रिया अपनाएको कारण हारजित अवस्य हुने बताउँदै त्यसलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिए । साथै आफूलाई महाधिवेशनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।
१४ औं महाधिवेशनमा मलाई विश्वास गरेर महामन्त्रीमा मत दिनुहुने र महाधिवेशन सफल बनाउन सक्रियताका साथ सहभागी महाधिवेशन प्रतिनिधिलगायत सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं हितैषी साथीहरु र समग्र कांग्रेस परिवारप्रति सुहृदय आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।’उनले भनेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मदेवारी दिएका पौडेलले १ हजार ३ सय ९३ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?