काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन हुने भएको छ । मंगलबार प्राप्त नतिजाअनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि पुनः निर्वाचनको बाटोमा कांग्रेस गएको हो ।
कुल ४ हजार ६ सय ८१ मत खसेको थियो । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२ सय ५८ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १७ सय २९ मत ल्याएका छन् भने प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
त्यससँगै पहिलो र दोस्रो मत ल्याउने देउवा र कोइलाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । ८२ मत मात्र कम ल्याएका देउवाले निधि र सिंहमध्ये एकको साथ लिनुपर्ने देखिन्छ । यदि दुवै नेताले साथ नदिएमा देउवाको हातबाट सत्ता फुत्किने पक्का छ ।
मतदानको अन्तिम परिणाम सार्वजनिक हुनुपूर्व नै देउवा निकट नेताहरु प्रकाशमान सिंहलाई फकाउन पुगेका छन् । गृहमन्त्री समेत रहेका देउवाका विश्वासपात्र बालकृष्ण खाँण सिंह निवास चाक्सिबारी पुगेका छन् । खाणसँगको छलफलमा सिंहले अरुसँग छलफल गरेर निर्णय लिने जवाफ फर्काएको सिंहको सचिवालयले जानकारी दिएको छ ।
यसो त देउवा नेतृत्वमा आएपछि पार्टी बिगारेको आरोप लगाइरहेका सिंहले यसपटक जसरी पनि देउवाको हातबाट सत्ता फुत्किाउने भन्दै उम्मेवारी घोषणा गरेका थिए । बारम्बार देउवाको आलोचना गरिरहेका सिंहसहित संस्थापनइतरका नेताहरु साझा उम्मेदवार खोज्न लामो समय छलफलमा जुटे । तर सहमति हुन सकेन ।
संस्थापनइतरबाट अन्तिम उम्मेदवारमा सिंह र कोइराला परेका थिए । तर दुईबीच सहमति हुन नसकेपछि अन्तिममा छुट्टाछुट्टै उम्मेवारी घोषणा गरे । एकै क्याम्पमा रहेर लामो समय काम गरेका सिंहले कोइरालालाई साथ दिएर अघि बढ्ने कतिपयको बुझाइ रहेको छ ।
त्यस्तै देउवालाई जिताउने अर्का निर्णायक पात्र निधि हुन् । देउवा क्याम्पमा नै रहेका निधिले यसपटक आफूले सभापति उठ्ने घोषणा गरेपनि धेरैले त्यसलाई बार्गेनिङको रुपमा हेरेका थिए । तर निधिले सिंगल लढेर पनि आफ्नो उम्मेदवारी झिकेनन् ।
उनले सोमबार मतदान भइरहँदा दोस्रो चरणको निर्वाचनमा देउवालाई हराउने प्रतिक्रिया दिएका थिए । आफूले जित्न नसक्ने जान्दाजान्दै पनि निधिले देउवाको भोट काट्नका लागि उम्मेदवारी दिएको बुझ्न सकिन्छ ।
यता पाँचौँ मत ल्याएका गुरुङको मत निर्णायक छैन । किनकी देउवालाई अब सभापतिमा जित्न ८२ मत आवश्यक परे पनि उनीसँग जम्मा २० मत मात्रै छ । तै पनि अंकभार बढाउनका लागि भए पनि देउवा पक्षका नेताहरुले गुरुङसँग समेत छलफल गरिरहेका छन् ।
गुरुङले युवाहरुले पार्टीको नेतृत्व गर्नुपर्ने जोड दिँदै अन्तिमसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनी निकट एक नेताका अनुसार गुरुङले कोइरालालाई नै सघाएर अघि बढ्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया