पहिलो चरणमा पाँचथरबासी र सिंहदरबारका कर्मचारीलाई वितरण गर्ने भनिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा आगामी जेठ २५ गतेबाट तथ्याङ्क संकलन हुने भएको छ ।
बहुउपयोगी बायोमेट्रिक्स सहितको परिचयपत्र उपलब्ध गराउने सरकारको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र गत चैतदेखि वितरण गर्ने भनिएपनि केही समय ढिला गरी तथ्याङ्क सङ्कलनको कार्य सुरु हुने भएको हो ।
फिदिममा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतसँग आयोजना गरेको छलफलमा यसवारे जानकारी दिइएको हो ।
पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारी गरी १ लाख १७हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ । दुई महिना भित्र विवरण संकलन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थान केन्द्रका कार्यकारी निर्देशक शिवराम जोशीले जानकारी दिए ।
अहिले पाँचथर जिल्लाका लागि जिल्ला प्रशासन कार्यालयमा छुट्टै शाखा स्थापना गरेर तथ्याङ्क सङ्कलनको तयारी भइरहेको जोशीले जानकारी दिए । एसीयाली विकास बैङ्कको ४ दशमलव ८ मिलियन अमेरिकी डलर ऋण सहयोगमा राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।
पाँचथरमा पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा अन्य १५ जिल्लामा काम सुरु हुने जोशीले वताए। आर्थिक वर्ष २०६६/०६७ को नीति कार्यक्रम तथा बजेट मार्फत सरकारले परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । नागरिकता प्राप्त गरेकालाई परिचयपत्र वितरण गरिने छ ।
राष्ट्रिय परिचयपत्र बहुउपयोगी हुन्छ । यसमा रहेको ‘चिप्स’माव्यक्तिसँग सम्बन्धित सबै विवरणहरु समावेश हुन्छन् । व्यक्तिगत विवरणमा व्यक्तिको नाम, ठेगाना, बाबु आमा, जन्ममिति, श्रीमान÷श्रीमतीलगायत खुलाइन्छ भने जैविकविवरणमा १० औँठाको छाप, व्यक्तिको फोटो रहन्छ । प्रत्येक परिचयपत्रमा १० अङ्कको राष्ट्रिय परिचय नम्बर समेत उल्लेख हुन्छ । राष्ट्रिय परिचयपत्रमा राज्यलाई आफ्ना नागरिकका विषयमा आवश्यक पर्ने सम्पूर्ण विवरणहरु समावेश गर्न सकिन्छ ।
आगामी दिनमा सरकारले त्यस्तो व्यवस्थाप गर्दै लैजान सक्ने जोशीको भनाई छ । राष्ट्रिय परिचय पत्रमा रहेको चिप्समा लालपूर्जा, सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स), सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कार्ड लगायत समेत समावेश गर्न सकिन्छ ।
परिचयपत्रका लागि एक व्यक्तिको तथ्याङ्क तयार पार्न एकजना कर्मचारीलाई ५ देखि १० मिनेट समय लाग्छ । तथ्याङ्क संकलनमै समय लाग्ने भएकाले पाँचथरमा ३ देखि ४ महिनामा तथ्याङ्क सङ्कलनको कार्य सम्पन्न हुने केन्द्रको अनुमान छ । यसका लागि करारमा कर्मचारी राख्ने प्रकृया समेत पूरा भएको जोशीले वताए ।
सङ्कलित तथ्याङ्कका आधारमा राष्ट्रिय परिचयपत्र तयार गरी वितरण गरिनेछ । पाँचथरमा करिब १लाख १० हजार परिचयपत्र वितरण भएपछि पनि परिचयपत्र वितरणको कार्य निरन्तर हुनेछ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा परिचयपत्र वितरणका लागि छुट्टै शाखा निरन्तर सञ्चालन हुने निर्देशक जोशीले जानकारी दिए ।
जेठ अन्तिमबाट सुरु हुने तथ्याङ्क संकलनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रले विहीवार फिदिममा छलफल गरेको हो । छलफलका सहभागीहरुले वर्षायामका कारण अधिकांश कृषकहरु काममाव्यस्तहुने भएकाले ३÷४ महिनाको अवधिमातथ्याङ्क संकलन सम्पन्न गर्न मुस्किल हुने वताए ।
उनीहरुले असार र साउनमहिनामा वर्षायामका कारण जिल्लाको तुम्बेवा र कुम्मायक गाँउपालिकाबाहेकका स्थानीयतहका धेरै स्थानमा तथ्याङ्क संकलन गर्न कठीन हुने वताए । वर्षायाममा कालोपत्रे बाटोमा पर्ने, सुख्खाग्रस्त क्षेत्रमा तथ्याङ्क संकलन गर्न उनीहरुले सुझावदिए । केन्द्रले जिल्लाको सदरमुकाम फिदिमबाट तथ्याङ्क संकलनको कार्य सुरु गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया