धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा डोटीका नेता तथा पूर्वमन्त्री वीरबहादुर बलायरलाई सर्वसम्मत रुपमा बनाउने प्रयास जारी रहेको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको यस प्रदेशको सभापतिमा बलायरसहित कांग्रेस कार्यसमितिमालाई सर्वसम्मत रुपमा पूर्णता दिन विभिन्न चरणको छलफल भइरहेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विशेष पात्र मानिएका रमेश लेखक, एनपी साउद र पौडेल खेमाका नेता दिलेन्द्रप्रसाद बडुबीच बिहीबारदेखि विभिन्न चरणमा छलफल भएको जनाइएको छ ।
‘छलफलमा बलायरलाई सभापतिका लागि अघि बढाई कार्यसमिति सर्वसम्मत रुपमा बनाउन चर्चा चलिरहेको छ’, स्रोतले भन्यो, ‘बलायरले पनि सभापति हुन सहमत रहेको तर, चुनावी प्रतिस्पर्धामा जान नसक्ने प्रतिक्रिया आयो ।’
सभापतिमा बलायरलाई बनाउने प्रयास भइरहेकाले मनोनयन कार्यतालिका पनि सारिएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका थियो । सर्वसम्मत रुपमा बनाउन छलफल जारी रहेकाले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।
देउवानिकटकै सात जना आकांक्षी भएपछि बलायरलाई सर्वसम्मत रुपमा सभापति बनाइन लागेको भए पनि प्रदेशको अधिवेशन चुनावमै जाने देखिएको छ ।
पार्टी सभापतिका बलियो आकांक्षी पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह र महामन्त्रीमा कैलाली सभापति नरनारायण शाह सभापतिको बलियो उम्मेदवार हुन् ।
‘शाह र नरनारायणले सो प्रस्तावमा असहमति व्यक्त गरिरहेका छन्’, स्रोतले भन्यो, ‘भोलि मतदान हुने सम्भावना देखिन्छ ।’
सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कञ्चनपुरका गोपालसिंह गुरुङ र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, संस्थापनइतरका नारायण दत्त भट्टले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रदेश कार्य समितिका लागि सभापति एक, उपसभापति दुई, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित ) र प्रदेश सदस्य ५१ जना रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया