४२ देशका युवाहरु नेपालमा, प्रचण्डदेखि ओलीसम्मलाई तान्यो

काठमाडौँ – विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ ।

प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो ।

तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिए  ।

 

महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ ।

महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्  भने उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् ।

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?