आज पनि सर्वोच्चमा लफडा, केही कानुन व्यवसायी घाइते (तस्बिरसहित)

लोकपथ
1.6k
Shares

काठमाडौं । शुक्रबार (आज) पनि सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीहरुबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसहित आन्दोलन गर्न सर्वोच्च पुगेका कानुन व्यवसायीबीच झडप भएको हो ।

झडपमा परी केही अधिवक्ताहरु घाइते भएको बताइएको छ । यसअघि बिहीबार पनि कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दर्जन बढी कानुन व्यवसायी घाइते भएका थिए ।

सोही आन्दोलनमा सहभागी अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यायालयमा निरन्तर कानुन व्यवसायीमाथि हातपात हुनु स्वभनीय नभएको बताए । साथै प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्न समेत सुझाव दिए ।

‘न्यायालयमा जायज मागहरुसहित आन्दोलनरत कानुन व्यवसायीमाथि निरन्तर रुपमा हातपात हुनु विधिको शासनको धज्जी उडाउनु हो। कानुन व्यवसायीहरुको माग बमोजिम प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ ।’ उनले भने ।

नेपाल बारको अगुवाइमा आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा पुगेका छन् । उनीहरुले ‘दंगा प्रहरी फिर्ता जाऊ’, ‘अदालत परिसर हाम्रो हो’, ‘भ्रष्ट प्रन्या राजीनामा दे’ जस्ता नाराहरु लगाइरहेका छन् ।

नारासहित मूल गेटबाट प्रधानन्यायाधीश जबरालाई अवरोध गरिरहेका कानुन व्यवसायीहरुले आज भने वैकल्पिक गेटमा नजाने रणनीति बारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?