काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन शुक्रबार (भोलि) सम्मको अल्टिमेटम दिएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायालय विचौलियाविहिन बनाउनका लागि प्रधानन्यायाधीशले राजीनामा दिन आग्रह गरे । यसअघि तेस्रो चरणको आन्दोलन घोषणा गर्दै बारले मंसिर ३ गतेसम्म राजीनामा दिन प्रन्यालाई अल्टिमेटम दिएको थियो ।
पत्रकार सम्मेलनमा उनले भने, ‘न्यायपालिका विचौलिया बिहिन हुनुपर्यो । हामीले माग गरेको कुरा हो । हामी आक्रामक हुँदैनौ । भोलीसम्मको अल्टिमेटमसम्म राजीनामा आओस् ।’
त्यसैगरी आफूहरुले निरन्तर गरिरहेको आन्दोलन कमजोर पार्न प्रहरी र अन्य व्यक्तिहरु परिचालन गरिएको उनको आरोप रहेको छ । आफूहरु विधिको शासनको लागि लडेको दाबी गर्दै उनले प्रधानन्यायाधीश राणालाई जसरी पनि हटाउने दाबी गरे ।
‘हाम्रो आन्दोलन कमजोर पार्न प्रहरीले नियतवश हतियारसहितका प्रहरी र भिजिलान्ते प्रयोग गरिएको छ। हामी विधिको शासन कायम गर्न लडिरहनेछौँ। अदालतको बिचौलिया हटाएरै छाड्छौँ। न्यायको किनबेच भइरहेको छ। त्यो हामी अन्त्य गरेरै छाड्छौँ, प्रधानन्यायाधीश जबरालाई पदच्युत गरेरै छाड्छौं ।’ उनले भने ।
अध्यक्ष श्रेष्ठले न्यायायलको सुधारको लागि आफूले ज्यान दिन समेत तयार रहेको बताएका छन् । साथै प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म न्यायालय सुधार नहुने जिकिर गरे ।
‘मलाई प्रहार गरेको लाठी जोगाउन आएका प्रकाश महर्जनलाई लागेर गम्भीर घाइते भएका छन्, न्यायालय सुधार हुन्छ भने म सहिद बन्न तयार छु। उहाँको राजीनामा नहुँदासम्म न्यायालय सुधार हुँदैन।’उनले भने, ‘उहाँ नै सुधार अभियानको बाधक÷ढक्कन हुन् । उहाँलाई हटाएर मात्र सुधार अभियानको थालनी हुनसक्छ ।’
गोलाप्रथा प्रणाली लागू भएपनि आफूहरुको आन्दोलन त्यतिकै नरोकिने उनको भनाइ रहेको छ ।
‘गोलाप्रथा लागू गर्ने नियम न्यायाधीशले बनाएका हुन् । हाम्रो उद्देश्यमा तलमाथि हुने काम हामी गर्दैनौं । दंगा प्रहरी राखेर अदालतमा न्याय पाइदैन । जिप्रका गए भै गो नि । गोला प्रणाली सुरु भए पनि तत्कालको लागि आन्दोलन शिथिल हुने काम गर्दैनौ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया