नेपाल बारले गुहार्‍यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग (विज्ञप्तिसहित)

लोकपथ
77
Shares

काठमाडौं । नेपाल बार एसोसियसनले आन्दोलनका क्रममा सर्वोच्च परिसरमा दमन भएको भन्दै त्यसबारे अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थालाई गुहारेको छ ।

आज न्यायालय सुधारसहित प्रधानन्यायाधीशविरुद्ध भएको आन्दोलनमा कानुन व्यवसायीहरु घाइते भएपछि बारेले त्यस्तो त्यस्तो आह्वान गरेको हो ।

नेपाल बारले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानवअधिकार सम्बन्धी संघ संस्थाहरुलाई आह्वान गर्दछौं ।’

आज प्रदर्शन नियन्त्रण गर्न युद्धमा प्रयोग गरिने एसएलआरसहित प्रहरीलाई परिचालन गरिएकोप्रति आपत्ति जनाउँदै यस्तो अवस्थामा उचित तबरले न्याय सम्पादन हुन नसक्ने समेत बारले जनाएको छ ।

अध्इक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, असक्षम र नैतिकता विहिन कार्यमा संलग्न प्रधान न्यायाधीशको राजीनामा माग गर्दै भईरहेको शान्तिपूर्ण पूर्व निर्धारित कार्यक्रममा यस अघि नै दंगा प्रहरी प्रवेश गराइएकोमा आज पहिलो पटक दंगा प्रहरीका साथ एस। एल आर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धमैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछ। अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमती दिने प्रधान न्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्याय प्रशासन र न्याय संपादन सुसञ्चालन गर्न सकिने कल्पना पनि गर्न सकिदैन ।’

आज बारको आन्दोलनलाई निरन्तरता दिने क्रममा प्रहरी र कानुन व्यवसायीबीच झकेलाधकेल हुँदा बारका अध्यक्षसहित वकिलहरु घाइते भएका छन् ।

प्रदर्शनमा क्रममा नेबाएका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएको बारले जनाएको छ । त्यस्तै बारका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश महर्जन टाउकोमा गंभिर चोट लागि अस्पताल भर्ना भएका छन्। सोही क्रममा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, सर्वोच्च बार एसोसिएसनका सचिव अधिवक्ता ऋषिराम घिमिरे, अधिवक्ताहरु कपिनचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण तथा उच्च अदालत बार पाटनका सदस्य अधिवक्ता श्री गोपाल सापकोटा लगायत धेरै कानून व्यवसायीहरु घाइते भएको बारले जनाएको छ।

त्यसैगरी आज बार परिसरमा नै अपरिचित व्यक्तिहरुले वकिलहरुलाई थर्काएकोप्रति बारले आपत्ति जनाएको छ । साथै न्यायालयभित्र भएको उक्त घटना सैह्य नहुने भन्दै त्यसको विरुद्ध लाग्न सबैलाई आह्वान समेत गरिएको छ ।

‘आजको विरोध सभाको समापन पश्चात ३९४ जना विचौलिया र भ्रष्टका मतियारहरु नेपाल बार एशोसिएशनको परिसरमा अनधिकृत रुपमा प्रवेश गरी कानून व्यवसायीलाई अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जत समेत गर्ने प्रयास भएको घटनाको समेत निन्दा गर्दछौं र कुनै पनि बहाना र शर्तमा धान न्यायाधीशको राजीनामा नभई हाम्रो आन्दोलन नरोकिने पुनः स्पष्ट गर्न चाहान्छौं जुनसुकै अवस्थामा हुने भ्रष्ट र विचौलियाको हर्कतको विरुद्धमा एकाकार भई नेवाएको अभियानमा सहभागी हुन नेवाए समस्त कानून व्यवसायीलाई अनुरोध गर्दछ साथै यो पवित्र उद्देश्य लिएर नेवाएले सञ्चालन गरेको अभियानको कारण असुविधामा पर्नु भएका सेवाग्राहीहरुलाई धैर्य धारण गर्न र हाम्रो अभियान प्रति ऐक्यवद्धता जनाउने सम्पूर्ण नागरिक समाज, पेशाकर्मी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?