काठमाडौं । वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग बेन्च सेयर गरेमा आफूहरुले बेन्च बहिष्कार गर्ने बताएका छन् ।
बिहीबार नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा धर्ना पछि बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेञ्चमा बसे बार एसोसिएसनको आपत्ति रहने बताए । उनले प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले बेञ्च सेयर गरेमा बारले बेन्च बहिष्कार गर्ने स्पष्ट पारे । उनले प्रधानन्यायाधीशलाई वैधता दिने काममा आफुहरुले स्वीकार नगर्ने बताए ।
उनले भने– ‘तपाईँको कुन“पनि प्रक्रियाले प्रधानन्यायाधीशलाई वैधता प्रदान गर्ने कुनै पनि कदमप्रति हाम्रो सहमति, समझदारी र हाम्रो स्वीकार्यता हुँदैन । हाम्रो आन्दोलन निरन्तर रहन्छ । अटोमेसनबाट जानुपर्छ, अटोमेसन नभएसम्म गोलाप्रथाबाट जानुपर्छ भन्ने कुरा हाम्रो पनि माग हो । हरिकृष्ण कार्कीको प्रतिवेदनको पनि एउटा महत्वपूर्ण माग हो । त्यस प्रक्रियामा जानेकुरामा हामीलाई केही पनि भन्नु छैन तर त्यो गोलाप्रथाबाट यदि प्रधानन्यायाधीशले गोला लिने र उहाँको बेन्चमा बस्ने कार्य भयो भनेदेखि त्यसको हाम्रो घोर आपत्ति हुन्छ । र जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्छ त्यो बेन्च हाम्रो बहिष्कार हुन्छ । हामी त्यसमा बहस गर्दैनौँ । हाम्रो बारको जुन फिर्ता नआउने आन्दोलन छ, त्यसलाई कुनै पनि किसिमले निस्तेज पार्ने, निस्क्रिय पार्ने किसिमको उद्देश्यले यदी कसैले पनि कुनै कदम चाल्यो भने हाम्रो सहमति हुँदैन । प्रधानन्यायाधीशलाई वैधता दिने काम भयो भने हाम्रो मान्यता हुँदैन । हाम्रो स्वीकार्यता हुँदैन ।’
वरिष्ठ अधिवक्ता शाक्यले न्यायाधीशहरु र कानुन व्यवसायीहरुले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको जिकिर गरे । उनले प्रधानन्यायाधीशलाई डुब्दै गरेको घामको संज्ञा दिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेको राजीनामा भएको उल्लेख गरे । प्रधानन्यायाधीशले बहिर्गमनको बाटो नलिएमा सर्वोच्च अदालतप्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उनले चेतावनी दिए । सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरु माथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै उनले प्रहरीको आक्रमण तत्काल बन्दगर्न गृहमन्त्रीलाई आग्रह गरे ।
उनले भने– ‘तपाईँको सम्मानजनक बर्हिगमन भनेको राजीनामा हो । राजीनामाको बटमलाइन भन्दा तल हामी जादैनौँ भनेपछि कतिदिन उहाँले जित गरेर बस्नुहुन्छ ? जनमत सिर्जना गरौँ, आज हामीले एउटा गेट बन्द गरिराख्या छौँ । अर्को गेट बन्द गरेका छैनौ । भोलि यस्तो पनि स्थिति पैदा हुन्छ कि अर्को गेट पनि बन्द गर्ने । अर्को गेट बन्द गर्नुपर्ने स्थिति पैदा हुँदै छ । यदि उहाँले सम्मानजनक बहिर्गमनको बाटो लिनुहुन्न भने अर्को गेट पनि बाध्य भएर बन्द गर्नेछौँ । प्रधानन्यायाधीशले न्याय मन्दीरको प्राङ्गणमा प्रहरी निम्त्याउनु भो, गृह प्रशासनसँग मिलेमतो गरेर । गृह प्रशासनले जुन किसिमको काम गरिराख्या छ, यसलाई तत्काल बन्द गर्नका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु । बर्बरतापूर्ण आक्रमणका लागि प्रहरी खटाउनुभएको छ, तत्काल बन्द गर्नुस् ।’
सो कार्यक्रममा बोल्दै अधिवक्ता ओम प्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनी दिए । यो मुद्दा संयुक्त राष्ट्रसंघका निकायमा लैजाने उनको भनाइ छ ।
नेपाल बार एसोसिएसनले शुक्रवार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, कपिल पोखरेल, निकेश श्रेष्ठ, युवराज बञ्जाडे, रोमन कर्ण, ऋषिराम घिमिरे, गोपाल सापकोटालगायत घाइते भएको बारले जनाएको छ । धर्नाका क्रममा कानुन व्यवसायीहरुले बिचौलियालाई कारबाही गर, दंगा प्रहरी फिर्ता गर, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, बिचौलियाको अन्त्य गरलगायतका नाराबाजी समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया