एमाले महाधिवेशन : अझै किन आएन ११ जिल्ला र ६ वटा जनसंगठनको प्रतिनिधि विवरण ?

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (एमाले)को दशाैँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको विवरण पठाउने म्याद (३० कात्तिक) आज सकिएको छ । तर, अझै ११ वटा जिल्ला र छवटा जनसंगठनबाट प्रतिनिधिहरुको विवरण आउन बाँकी छ ।

कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । यस्तै २२ जनसंगठनमध्ये छवटाबाट प्रतिनिधिको विवरण नआएको उनको भनाइ छ ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ती जिल्लामा प्रतिनिधि छनोट भइसकेका छन् ।

‘महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसंगठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ’, उनले भने, ’तर केही प्रक्रिया पुर्याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।’

उनले बिहीबारसम्म सबै जिल्ला र जनसंगठनको विवरण आउने बताए । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसंगठनबाट पाँच जनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।

यही मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताए ।

चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्नेछ । महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?