फुङलिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्वपर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो ।
विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको ठूलो कुरा हो ।’
जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकरुलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने भट्टराईले बताए ।
७१ लाख ५० हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचार कक्ष बेड स्थापना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेण्डेन्ट डाक्टर सोनिङ लामाले बताए । अक्सिजन प्लान्ट जडान पूरा भएकोले अब यही प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामको २० थान अक्सिजन सिलिन्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ ।
अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष भए पनि भवन अभावले अहिले दुई श्ययाको मात्र जडान भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । उपकरण सबै जिल्ला अस्पतालमा आइसकेको भए पनि पाँच श्ययाको उपचार कक्ष बेड राख्ने ठाउँ नभएको मादेनले बताए । प्रविधि जडान भएसँगै दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने मादेनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया