सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत

धनगढी- नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । 

संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहेका  धामीले बताए  । 

कैलालीको शुरुआतको विन्दु खक्रौलास्थित ७०० नंको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रह्मदेव नजिकको सीमाको ८११ नं सम्मका सीमास्तम्भको अवस्था भत्केबिग्रेका फेला पारेको पाइएमा तिनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो । कैलाली जिल्लाको भजनी नजीकको मारियाघाट र धनगढी उपमहानगरपालिकाको फूलबारी सीमा क्षेत्रका बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमास्तम्भ निर्माण गर्न नदिने जनाउँदै विवाद गरेपछि ती दुवै ठाउँमा निर्माण हुनुपर्ने सात सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ । विवादित क्षेत्रका सीमास्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ । 

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत धामी र भारतका तर्फबाट देहरादून नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गत मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रैला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको रेकी गरी निर्माण र मर्मत गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?