दिपक मनाङेले सार्वजनिक गरे सम्पती विवरण

लोकपथ
658
Shares

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले मन्त्री भएको ५ महिनापछि सम्पती विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री नियुक्त भएको २ महिना (६० दिन) भित्र भित्र सम्पती विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान अनुसार मनाङले सम्पती विवरण सार्वजनिक गरेका हुन् । यसअघि नै सम्पती विवरण सार्वजनिक गर्नुपर्नेमा मनाङले आनाकानी गरेका थिए ।

मनाङेले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र ८३ तोला मुगा रहेको विवरणमा उल्लेख गरेका छन् । सुन वैदेशिक रोजगारीबाट कमाएर किनेको दाबी गरेका छन् भने मुगा पैत्रिक सम्पती रहेको उनले बताएका छन् ।

मनाङेले भैँसी फार्ममा ४० प्रतिशत सेयर देखाएका छन् । संघर्ष गाई भैँसी फार्ममा अहिले २० वटा भैँसी र ५ वटा गाई रहेको भन्दै उक्त फार्ममा आफ्नो ४० प्रतिशत सेयर रहेको उल्लेख गरेका छन् । तर आफूसँग कुनै पनि सवारी साधन र घर नभएको मनाङको दाबी रहेको छ ।

सम्पती विवरण सार्वजनिक गर्दै मनाङेले आफूसँग विभिन्न स्रोतबाट ऋण लिएको समेत उल्लेख गरेका छन् । उनले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाख ऋण लिएको उल्लेख गरे। त्यस्तै सांसद भएपछि एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार तलबभत्ता जम्मा भएको उनको विवरणमा देखिएको छ । अन्य बैंक खाता भने उनले देखाएका छैनन् । उनले काठमाडौंमा विभिन्न व्यक्तिको जग्गा बैनापट्टा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै काठमाडौंको धर्मस्थलीमा प्रकाश महर्जनको नाममा १ रोपनी ९ आना, श्याम महर्जनको १२ आना, कृष्ण महर्जनको ४ आना उनले बैनापट्टा गरेको भनेका छन् । मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरी नगरपालिका( २ मा ३ रोपनी जग्गा रहेको र मकवानपुरको पदमपोखरीमा १ रोपनी ९ आना १० दाम जग्गा देखाएका छन् ।

मनाङ क्षेत्र नम्बर (ख) बाट निर्वाचित उनले आफ्नो स्थायी ठेगाना भने काठमाडौं उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?