कुमार रानालार्इ छुटाउन डा. बाबुराम भट्टरार्इले दिए १ लाख रूपैयाँ

काठमाडाैं : साउदी अरबको जेलमा रहेका जिल्लाबासी गोरखा भीमसेन गाउँपालिका-७, बोर्लाङमा कुमार रानामगरलार्इ थुनामुक्त गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले १ लाख रूपैयाँ सहयोग गर्ने जनाएका छन् ।

अाफुले चलाएको गाडी दुर्घटनामा पर्दा घार्इते भएका साउदी नागरिक खलिद विन फाहद बिन सदरले ८३ लाख रूपैयाँ क्षतिपूर्ति माग गरेपछि तिर्न नसक्दा मगर गत ६ महिनादेखि साउदीको जेलमा छन् । 

‘आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ, बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

कुमारको रिहार्इको लागी नेपाल सरकारले सहयोग नगर्ने जनार्इसकेको छ । हाल उनलार्इ जेलमुक्त गरि स्वदेश फर्काउन नागरिकस्तर सहयोग संकलन भर्इरहेको छ । कृष्ण प्रसाद ढकालको संयोजकत्वमा गठित १८ सदस्यीय मुल समितिले रानालार्इ जेलमुक्त गराउन अावश्यक रकम जुटाउन पहल थालिसकेको छ । प्रवासी नेपालीहरूले पनि उनको रिहार्इका लागि सहयोग रकम जुटाउन थालेका छन् । 

४० बर्षीय राना ६ बर्षपहिले 'द गोर्खाज् म्यानपावर' बाट साउदी अरब गएका थिए । उनी अफिफस्थित खालिद सुल्तान अल हाजित कम्पनीका मजदुर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?