फूलमा आत्मनिर्भर बन्दै मुलुक

काठमाडौं । पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर बन्दै गइरहेको छ । नेपाली उत्पादनले लगभग बजार धान्न थालेपछि मुलुक फूलमा आत्मनिर्भर बन्दै गइरहेको हो ।

नेपालीहरूको दोस्रो महान् चाड तिहारलाई फूलहरूको पर्वको रूपमा लिइन्छ । त्यसैले पनि तिहारमा अरु समयको तुलनामा फूलको प्रयोग बढी हुन्छ ।

विगतका वर्षहरूमा ६० प्रतिशतभन्दा बढी फूल भारतबाट आउने गरेको भए पनि पछिल्लो समय भने नेपाली उत्पादन बढेपछि मुलुक आत्मनिर्भर बन्दै गइरहेको हो । अहिले नेपाली बजारको ९० प्रतिशत फूलको हिस्सा नेपालको छ ।

अहिले नेपाली बजारमा तिहारका लागि १८ लाख ६५ हजार सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । नेपालको फूलले नै १५ लाख ५० हजारभन्दा बढी माला हुने अनुमान गरिएको छ । जसले मुलुक फूलमा आत्मनिर्भर बन्दै गइरहेको देखिन्छ ।

गोदावरी फूलबाट मात्रै १५ हजारभन्दा बढी माला उत्पादन हुने गरेको छ । नेपाली बजारमा ३ लाख मखमली फूलको माला मागअनुसार पूर्ति हुनेगरेको छ । एकदेखि डेढ लाखसम्म मखमली फूलको माला निर्यात समेत हुने गरेको एसोसिएसनले जनाएको छ ।

वार्षिक ४० लाख माला उत्पादन

नेपालमा वार्षिक ३८ देखि ४० लाख माला फूल उत्पादन हुँदै आएको छ । वार्षिक १३ लाख ५० हजार माला मखमली फूल मात्रै उत्पादन हुनेगरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले बताए । यो नेपाली उत्पादनले लगभग बजार धान्ने अवस्था भएको भन्दै उनले साढे २ लाख माला भने आयात गर्नुपर्ने बताए ।

 

तिहारमा अत्यधिक खपत हुने सयपत्री, मखमली फूल बेमौसमी रूपमा समेत व्यावसायिक खेती हुनेगरेको छ । पछिल्लो बेमौसमी वर्षाका कारण २० प्रतिशत फूल बोटमै नष्ट भएको व्यवसायीले बताएका छन् ।

७ वटै प्रदेशमा फूलखेती

तिहारलाई मात्रै लक्षित गरी नेपालको ७ वटै प्रदेशका २८ जिल्लामा फूलखेती गरिएको एसोसिएसनले जनाएको छ । नेपालमा प्रायः सबै जिल्लाहरूमा सयपत्री फूल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा उपत्यकाबाहेक काभ्रे, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुली, सर्लाही, सप्तरी, रूपन्देही, कपिलवस्तुलगायतका नेपालका ४४ जिल्लाका १ सय ५९ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ ।

जसबाट नेपालमा वार्षिक रूपमा जिल्लाहरूमा व्यावसायिक रूपमा उत्पादन हुने गर्दछ । उपत्यकाका भक्तपुरको गुण्डु क्षेत्र, ललितपुरको धापाखेल, काठमाडौंको इचङ्गु, साँखु क्षेत्रमा मखमली फूलको उत्पादन गरिँदै आइएको छ ।

यस्तो छ कारोबारको अवस्था

यस वर्ष २ अर्ब ४२ करोड रुपैयाँबराबर फूलको कारोबार हुने अपेक्षा एसोसियसनले गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ४२ करोडबराबर फूलको कारोबार भएको थियो । सोहीअनुसार गत आर्थिक वर्षमा ३ अर्बबराबरको कारोबार गरिने अपेक्षा राखिएको भए पनि कोरोना संक्रमणका कारण १ अर्ब ६३ लाखको रुपैयाँबराबरको मात्रै कारोबार भएको थियो ।

पुष्प व्यवसायमा के–के छन् समस्या ?

विशेषगरी पुष्प व्यवसायमा उन्नत जातका बीउ, सिँचाइको अभाव हुनेगरेको छ । त्यस्तै, खुला सीमानाका कारण भारतबाट अवैध रूपमा कम लागतमा फूल आउने हुँदा नेपाली व्यवसायीलाई मर्का परेको एसोसिएसनले बताएको छ ।

व्यवसायीले पुष्प व्यवसायलई अत्याश्वक व्यवासयका रूपमा नराखिएको प्रति गुनासो गरे । मौसमी बजारका कारण फूलको खपत निरन्तर नहुँदा व्यावसायिक रूपमा काम गर्न बाधा भएको उनीहरूले बताए । फूलको भण्डारण गर्न नसकिने हुँदा व्यवसायीहरूले घाटा बेहोर्नु परेको छ ।

फूलमा आत्मनिर्भर बन्न र नेपाली व्यवसायीले बजार धान्न भारतसँगको खुला सीमाबाट अवैध रूपमा आउने फूलको आयात रोक्नुका साथै भण्डारण गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?