२२ तलाको धरहरा बनाउन कहाँबाट आउँछ पैसा ?

काठमाडौँ- ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’
डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ । नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ । त्यसमाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ । उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ । धरहराको पुनर्निर्माण आगामी २ वर्षभित्र सम्पन्न भइसक्नेछ । २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ ।
४ फागुन ०७३ मा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । उक्त अभियानअन्तर्गत धरहरा निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ । सो कोषमा सहयोग रकम आउने क्रम जारी नै रहेको छ । त्यस्तै, धरहरा निर्माणका लागि नेपाल टेलिकमले १ अर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएको छ । यसअनुसार हालसम्म १ अर्ब २४ करोड रुपैयाँ लगानी जुटिसकेको छ । बाँकी रकम सरकारले खर्च गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?