डोल्पा- बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन् ।
डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ परेका हुन् । तीमध्ये ११ जना महिला छन् ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त गस्ती टोलीले सोमबार राति ११ बजेतिर उनीहरूलाई पक्राउ गरेका हुन् । पक्राउ परेका सबैलाई निकुञ्ज कार्यालय सुलिगाडमा ल्याइरहेको निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए ।
यार्सागुम्बा पाटन खुल्नुअगावै यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न विभिन्न नाका र यार्सापाटनको सुरक्षा व्यवस्था कडाई पारिएको निकुञ्जले जनाएको छ ।
प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिना अवधिमा चल्ने यार्सागुम्बा सिजनलाई व्यवस्थित बनाउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीको संयुक्त गस्ती टोली पनि परिचालन गरिएको निकुञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया