स्वास्थ्य संस्थामा हुने तोडफोडलाई कुनै पनि हालतमा स्विकार गर्न सकिदैन – गगन थापा

काठमाडौँ- पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न वहानामा स्वास्थ्य संघ संस्थामा हुने गरेका तोडफोडका घटनालाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताएका छन ।

१ सय २९ औं श्रमीक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी यूनियनले गरेको कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झने गरेको टिप्पणी गरे ।

काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित सांसद पनि रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउँदै स्वास्थ्य ऐनको प्रभावकारी निर्माण सँगै त्यसको कार्यान्वयनमा जोड दिए । सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभए सम्म मुलुक समृद्ध हुनै नसक्ने थापाको भनाइ थियो ।

'समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आम नागरिक केन्द्रित हुनुपर्छ' थापाले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रजातान्त्रीक हक अधिकार सुनिश्चित भएसंगै ट्रेड यूनियनको दायरा फराकिलो भएको तर्क गरे । ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितसँगै कर्मचारीकोे वृत्ति विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताए ।

यूनियनका जागज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईले बताए ।

यूनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । अग्रज मजदूर नेता तथा यूएनआई एशिया प्यासिफिक डाइरेक्टर राजेन्द्र आचार्यले ट्रेड यूनियनलाई समस्याको रुपमा लिने सोच नै गलत भएको बताए । ट्रेड यूनियनले समस्या समाधान गर्न सधै प्रभावकारी भूमिका खेल्ने गरेको आचार्यले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्ध कुमार डंगोलले सार्वजनिक उत्तरदायित्य बोध गर्दै गुणस्तरीय सेवामा ध्यान दिन ओम अस्पताल प्रशासनलाई आग्रह गरे।

हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्कीले प्रशासनले टिम वर्कमा विश्वास राख्ने भन्दै कर्मचारीको दक्षता अभिवृद्ध गर्न आफूहरु तयार रहेको बताए । कुनै पनि समस्या भए खुल्ला रुपमा प्रशासन समक्ष राख्न उहा“ले कर्मचारीहरुलाई आग्रह गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर केपी देवकोटाले संस्थाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रममा वरिष्ठ सर्जन डाक्टर धुव्रशर्मा मुडभरीसँगै हस्पिटल संचालकहरु विजय मल्ल, चण्डिराज ढकाल, डाक्टर आनन्द श्रेष्ठ लगायतले कर्मचारी र व्यवस्थापन मिल्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मान सहित बिदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?