मिटरब्याजको ब्यारोमिटरले प्रहरीको शरणमा, एक करोडको ब्याज एक दिनमै १ लाख

लोकपथ
7.4k
Shares

काठमाडाैं । भरतपुरका प्रकाश कार्की र दोलखाका विदुर शर्मा दुवै निर्माण व्यवसायी हुन् र एक अर्काका परिचित पनि । निर्माणको कामको लागि सरसापट चल्थ्यो विश्वासको भरमा । कार्कीको कोटेश्वरमा त्रिनेत्र साकार कन्स्ट्रक्सन प्रालिले पछिल्लो समय रौतहटमा निर्माण भइरहेको रेलको ट्रयाक बेड (स्टेसन) निर्माणको काम गर्दै थियो । कार्कीसँग राष्ट्रिय गौरवको आयोजनाको काम गरेको देखि सैनिक संगठनभित्रको ठेक्कापट्टाको काम समेत गरिसकेका छन् । शर्मा प्रदेश निर्माण सेवा प्रालिका सञ्चालक हुन् ।

रेलको ट्रयाक बेड (स्टेसन)को लागि कार्कीले शर्मासँग ४ करोड ८३ लाख रुपैयाँ सापट लिए । चलाएको पैसाको ब्याज चलनचल्तीभन्दा बढी दिने मौखिक सहमति भयो । कार्कीले ०७६ को विभिन्न मितिमा ४ करोड रुपैयाँ ऋण लिएपछि शर्मालाई हस्ताक्षर गरेर खाली चेक दिएका थिए । कार्कीले रकम फिर्ता दिएपछि उक्त चेक शर्माले फिर्ता दिनुपर्ने सर्त राखे ।  तर, लेनदेनको विश्वास टिकेन । सो लेनदेनको विषयलाई लिएर शर्मा र कार्की महानगरीय प्रहरी परिसर काठमाडौंमा एकअर्काविरुद्ध उजुरी दिएका छन् । शर्माले दिएको उजुरीमा कार्कीले तोकेको भाकाभित्रै ऋण तिर्न नसकेको दाबी छ । आफूले गरेको कामको भुक्तानी रेल कम्पनीले नदिँदा ऋण तिर्न नसकेको कार्कीको जिकिर छ । सोही विषयलाई लिएर शर्मा र कार्कीबीचको विश्वासको सम्बन्धमा दरार सुरू भयो । शर्माले कार्कीलाई त्यसको साँवाब्याज गरेर १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ तिराउनुका साथै रुपन्देहीको दुई करोड पर्ने जग्गासमेत शर्माले लिइसकेका छन् ।

शर्माको मिटर ब्याजको ब्यारोमिटर यतिमा रोकिदैन । उनले थप १३ करोड ६५ लाख रुपैयाँ माग गरिरहेका छन् । सो रकम असुल गर्न गरिमा विकास बैंक र नेपाल बैंकको दुई वटा चेकमा बल प्रयोग गरि धम्क्याएर सही गराएको कार्कीको दाबी छ । ‘बल प्रयोग गरी तीनकुनेमा लगी धम्की दिएर चेकमा हस्ताक्षर गराइएको छ,’ प्रकाशका भाइ रवीन्द्र कार्की भन्छन्, ‘काठमाडौंदेखि रूपन्देहीसम्म पुर्‍याएर दाइको सासु मोहरा क्षेत्रीको नामको जग्गासमेत पास गराएर उहाँले आपराधिक लाभ लिनुभएको छ, मैले यही शीर्षकमा जाहेरी दिएको हुँ ।’
लेनदेनको तनावले प्रकाश अस्वस्थ छन् । परिवारका अनुसार काठमाडौं मेडिकल कलेज र भरतपुर अस्पताल पुर्‍याउँदा उनलाई ‘डिप्रेसन’ भएको छ । बेइमानीपूर्वक आपराधिक तरिकाले परिबन्धमा पारेर अनावश्यक रुपमा आर्थिक लाभ लिन खोजेपछि प्रहरीको शरणमा पुगेको कार्की परिवारको भनाइ छ ।

पीडित प्रकाश कार्की

२०७७ वैशाख २ गते शर्माले कार्कीलाई दिएको रकममध्ये पहिलो पटक ५३ लाख ८५ हजार रुपैयाँ फिर्ता पाएको कागजातबाट देखिन्छ । उक्त रकम कार्कीले शर्माको प्रदेश निर्माण सेवा प्रालिका नाममा रहेको गरिमा विकास बैंकबाट पठाएको देखिन्छ । त्यसको ११ महिनापछि ३१ चैत २०७७ मा कार्कीको खाताबाट फेरि शर्माको प्रदेश निर्माण सेवामा ३ करोड ८८ लाख रुपैयाँ जम्मा भएको बैंकिङ कारोबारका कागजातबाट देखिन्छ । त्यसको केही समयमै फेरि शर्मालाई कार्कीले ३ करोड ८३ लाख तिरे । यसबाहेक सुरेन्द्र उप्रेतीको खातामा कार्कीले ३१ चैत ०७७ मै १ करोड ९५ लाख ६९ हजार र सोही मितिमा सन्तोष श्रेष्ठको खातामा समेत २ करोड २८ लाख २६ हजार ५ सय जम्मा गरेको देखिन्छ । उप्रेती शर्माका साथी हुन् । कार्कीले शर्मालाई कुल १२ करोड ४६ लाख ८५ रुपैयाँ दिएको कागजातबाट खुल्छ । कार्कीका अनुसार त्यो आफूले लिएको ४ करोड ८३ लाख रुपैयाँ ब्याजबराबरको रकम हो । शर्माले हिसाब मिटरब्याजमा जोडेको कार्कीको दाबी रहेको छ । उनले एक करोडको एक दिनको ब्याज १ लाख रुपैयाँ असुल्ने गरेका छन् । निर्माण व्यवसायसँगै राजनीतिमा पनि आबद्ध रहेका शर्मा एमालेनिकट मानिन्छन् । शर्माले निर्माण सेवाको नाममा कैयौँलाई पीडित बनाएको कार्कीको आरोप छ । राजनीतिको आडमा शर्माले मिटर ब्याजको धन्दा चलाउने गरेको स्रोतको भनाइ छ ।

नेताको धाक, गृहसचिवको साथ

असोज १७ गते कार्कीको जाहेरी पछि शर्माको खोजीमा प्रहरी छ । तर नेकपा एमाले निकट रहेका शर्मा आफू पूर्वमन्त्री पार्वत गुरुङको विश्वासपात्र भएको भन्दै खुलेआम हिडिरहेका छन् । त्यतिमात्र नभएर उनले गृहसचिवसँग आफ्नो निकटतम सम्बन्ध रहेको देखाउन फोटो खिचाउँदै हिडेका छन् । स्रोतका अनसार मिटर ब्याजको विषय बाहिर आएपछि प्रहरीका हाकिमहरुलाई गृहसचिवाट फोन गराउन थालेका छन् ।

नेता गुरुङ र गृहसचिवका साथ शर्मा

अस्वस्थ रहेको कार्की पनि बालाजुस्थित परिवारको घरमा आराम गरिरहेका छन् । कार्कीले जाहेरीका साथै बैंक स्टेटमेन्ट, जग्गा पास गराएको कागजहरू बुझाएका छन्। प्रमाणका लागि शर्माले लगेको चेकबुक झिकाउन, अनुसन्धानका लागि कुमारी मोहरा क्षेत्रीसमेतलाई झिकाउन अनुरोध गरेका छन् । शर्माले पनि कार्कीविरुद्ध चेक बाउन्सको मुद्दा हालेका छन् । तिर्नै नपर्ने पैसाको चेक कटाएर चेक बाउनसको मुद्दा हालेको र धम्की दिएको कार्की परिवारको भनाइ छ ।

अनुसन्धान गर्दै प्रहरी

विश्वासको आधारमा लेनदेन हुने र ब्याजमा कुरा नमिलेपछि घटना प्रहरी समक्ष पुग्ने गरेको छ । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह भन्छन्, ‘अस्पतालमा उपचार सकिएपछि हामी दुबै पक्षलाई राख्छौं, कसुर पुष्टि हुने आधार देखिए कानुनी कारबाही सुरू गर्छौं ।’ ‘मान्छे झिकाएर अनुसन्धान गरेपछि मात्रै यसको कानुनी प्रक्रिया अघि बढ्छ, जाहेरी दर्ता भइसकेको छ, जाहेरीमा उल्लेख भएका तथ्यहरू केलाइरहेका छौं ।’ एसएसपी सिंहले थपे ।

यसअघि डोल्पाका निर्माण व्यवसायी दीपेन्द्र शाहीले समेत २ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा मिटरब्याजी गणेश उप्रेतीले जबर्जस्ती १४ करोड असुल्न खोजेको भन्दै प्रहरीमा निवेदन दिएका थिए । प्रहरी स्रोतका अनुसार शर्मा र उप्रेती एउटै समूहका मिटरब्याजी हुन् । यी दुबै प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?