फिल्म जोगाउन राजेश हमाललाई महानायक स्वीकार !

लोकपथ
2.2k
Shares

काठमाडाैं । राजेश हमाललाई ‘महानायक’को पदवी दिएकोमा सबैभन्दा असन्तुष्ट यदि कोही छ भने भुवन केसीपछि निर्देशक शोभित बस्नेत आउँछन् । सबैभन्दा धेरै सफल फिल्म दिएकाले भुवन आफूलाई ‘महानायक’को हकदार ठान्छन् ।

आफूलाई ‘महानायक’ नभने पनि उनी कसैले ‘महानायक’को रूपमा सम्बोधन गर्दा मौन बस्छन् । शोभित बस्नेतले त भुवन केसीलाई नै ‘महानायक’ घोषित गर्न लागिपरेका छन् । कतिपयले उनलाई भुवन केसीको अघोषित ‘प्रवक्ता’ समेत भन्ने गरेका छन् ।

अघिल्लो हप्ता आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’को पहिलो गीत सार्वजनिक कार्यक्रममा शोभितले फेरि भुवन केसीलाई ‘महानायक’को रूपमा सम्बोधन गरे । सामाजिक सञ्जालमा उनलाई गालीको ओइरो लाग्यो ।

आफ्नो बोलीमा फिल्मकर्मी र दर्शक सहमत नभएपछि आइतबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले राजेश हमाललाई नै ‘महानायक’ स्वीकार गरे । राजेश हमालको तस्बिरलाई प्रमुख अतिथि बनाएर कार्यक्रम सुरु गरेका उनले अब भुवन केसीलाई ‘महानायक’ नभन्ने वाचा गरे ।

उनले भने, ‘म गलत रहेछु । मैले सधैँ राजेश हमाललाई सुपरस्टार भनेँ । मलाई लागेको थियो कि संसारमा सुपरस्टारभन्दा ठूलो पदवी अरु छैन । तर, मैले उहाँलाई सुपरस्टारभन्दा धेरैले विरोध गरे । त्यसैले हात जोडेर माफी माग्छु कि मैले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ ठूलो बुझेछु ।

अब म पनि राजेश हमाललाई ‘महानायक’ भन्छु । उहाँ ‘महानायक’ नै हुन् र सधैँभरि रहिरहनुहुनेछ ।’ उनले चाँडै राजेश हमाललाई लिएर नयाँ फिल्म बनाउने पनि घोषणा गरेका छन् ।

‘महानायक’ विवादका कारण ‘डाँडाको बरपीपल’को गीत र ट्रेलरले भ्यूजको चर्को खडेरी भोगेको छ । गीत र ट्रेलरको कमेन्ट बक्समा फिल्म नहेर्ने प्रतिक्रिया आएको छ ।

यही डरले गर्दा शोभितले राजेश हमाललाई मुखले ‘महानायक’ स्वीकार गरेर विवादलाई टुंग्याउन खोजेको देखिन्छ । फिल्म जोगाउनकै लागि सोभितको ‘यू टर्न’ त गज्जब छ नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?