बैशाख ९ मा एकता गर्न नभ्याइने भयो, ओलीसँग भोलिदेखि नै छलफल : प्रचण्ड

चितवन, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बैशाख ९ मा एमाले र माओवादी केन्द्रबीच एकता नहुने निश्चित भएको बताएका छन् ।उनले पार्टी एकताका लागि विवादित विषय टुंगो लाग्न नसकेका कारण तत्काल एकता सम्भव नभएको बताए । उनले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताए ।प्रेस सेन्टरर प्रेस चौतारीले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए ।दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए ।उनले भने, ‘वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।’ त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उनको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंग््याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उनले बताए ।दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताए ।उनले भने, ‘कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् । त्यस्ता विषय छलफल गरेर टुंग््याउने भनिएको छ ।’गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए । यी विषयमा छलफल भइरहेको दाहालको भनाइ थियो ।अर्काे एक प्रश्नमा दाहालले भने, ‘शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् ।’ दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने भन्दै उनले भने, ‘दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने । त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।’ सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उनले बताए ।प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उनले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?