नुवाकोट, ४ बैशाख- दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाइएको छ । केक काटेर नौलो तरिकाले पहिलो पटक रेडपान्डाको जन्मदिन मनाइएको हो । वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो ।२३औँ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताको अवसरमा रसुवाका प्रदेश ‘ख’का सांसद प्रभात लामाले केक काटेर खेल उद्घाटन गरे । रसुवा सदरमुकाम धुन्चेमा नवौं रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता र छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ । जिल्ला समन्वय समिति रसुुवा, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।कार्यक्रम सञ्चालन गर्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेका छन् । कार्यक्रमका लागि पाँचवटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत् आयोजनाले सहयोग गरेका छन् ।लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपान्डा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिए । गतवर्षदेखि सुरु भएको रेडपान्डाको शून्य चोरीसिकार अभियान यस वर्ष सफल भएको उनले दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया