माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

– चुरामणि अर्यालकपिलवस्तु, २ वैशाख – कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो ।जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन भइरहेको छ  । उत्पादन राम्रो भएकै कारण पछिल्लो समय भारतीय माछाको आयात पनि कमी भएको छ ।पाँच वर्षअघि ८० प्रतिशतभन्दा बढी माछा आयात भएकामा अहिले ३० प्रतिशतमा झरेको छ  । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग धान्छ । कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई यस जिल्लाले दुई वर्षमा पछि पार्ने जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताए ।जिल्लामा प्राकृतिक जलाशय बढिरहेको र धेरै इँटाभट्टा बन्द रहेकाले त्यसमा माछापालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिदा कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न पनि कम लगानी हुने हुँदा यसमा कृषकको यसतर्फ आकर्षण बढेको हो  । जोखिम कम आम्दानी बढि हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भने, “त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै आएको हो  । जिल्लामा माछापाल्ने छसय कृषकमा एकसय महिला छन् ।”तीन वर्षअघि चारसय हेक्टरमा माछापालन गर्दा जम्मा आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि बढेर सातसय हेक्टर पुगेको छ, भने उत्पादन पनि वृद्धि भएर एक हजार दुईसय मेट्रिकटन पुगेको छ । चालु वर्षमा थप एक सय हेक्टरमा माछापालन हुने भएकाले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने प्रमुख खाँको दाबी थियो ।जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ  । जिल्लामा वार्षिक २४ करोडभन्दा बढी आम्दानी हुन्छ । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । ‘तीन वर्षअघि क्षेत्रीय कार्यालय र विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाँले भने,“अहिले सजिलो छ  ।”गतवर्ष ६६ नयाँ किसानले व्यावसायिक रुपले माछा पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि तीन बिघासम्ममा पोखरी बनाएका छन् । यसवर्ष ४० कृषकले पोखरी खनेर माछा पालनको तयारी गरिरहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका–११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । रु दुई करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेकामा वर्षेनी ६० देखि ७० लाखमात्र आम्दानी गर्न सफल भएको चर्चा गर्दै फरहान अकवाल खाँले भन्नुभयो, “राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ  ।” उनको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ  ।वाणगंगा नगरपालिका –६ चम्कीपुरका भरतबम कार्कीले पनि दुई वर्षदेखि माछापालन शुरु गरेका छन । रु २५ लाखभन्दा बढी लगानी गरेर उहाँले साढे ९ लाख भुरा र ३० हजार माछा पालेका हुन ।पाँच वर्षअघि तीन बिगाहामा माछापालन थाल्नुभएका शिवराज नगरपालिका–६ वसन्तपुरका लक्ष्मण भण्डारीले गतवर्ष थप चार बिघामा पोखरी खनेका थिए ।राम्रो आम्दानी भएरै उनले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसकेका छन । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा केही वर्षयता कृषकयसतर्फ आकर्षित हुन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?