एचआईडीसीएलले ३ करोड ६२ लाख कित्ता सेयर असोज ७ गतेबाट लिलामीमा ल्याउँदै

लोकपथ
221
Shares

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले असोज ७ गतदेखि ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले हकप्रदमार्फत बिक्री खुला गर्दा नबिकेको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेको हो । जसमा सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता रहेको छ ।

उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले उक्त सेयरमा असोज ७ गतेदेखि असोज १४ गते बोलपत्र पेश गर्नुपर्ने छ ।

उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले उक्त सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन ५ देखि भदौ ८ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले कुल ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त हकप्रद सेयर भने भदौ २६ गते बाँडफाँट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?