कांग्रेस महाधिवेशन : नेतृत्वमा महिला उम्मेदवारको खडेरी

काठमाडाैं । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनका लागि धेरैजसो जिल्लामा वडा अधिवेशन सकिएको छ भने कतिपय जिल्लामा बाँकी नै छ । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुँदै छ ।

कांग्रेस महाधिवेशनको सबैभन्दा प्रारम्भिक चरण भनेको वडा अधिवेशन हो । महाधिवेशनको सरगर्मी बढ्दै जाँदा सभापति, महामन्त्रीलगायतका पदाधिकारीमा विभिन्न नेताहरुले उममेदवारी घोषणा गरेका छन् ।

तर कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीमा अहिलेसम्म केन्द्रीय पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेहरु सबै पुरुष छन् । एक जना महिलाले पनि पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।

कांग्रेस सभापतिका लागि हालका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कल्याण गुरुङ, कृष्णप्रसाद सिटौलालगायतले आकांक्षा देखाएका छन् ।

त्यसैगरी महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा र प्रदिप पौडेलले उम्मेदवारी बन्ने बताइसकेका छन् । तर अहिलेसम्म पनि कुनै पनि महिलाले पदाधिकारी पदमा दाबी गर्न सकेका छैनन् ।

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ महिलाले हिम्मत गरेर केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन सक्नुपर्ने बताउँछन् । ‘कांग्रेसले पार्टीको हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ’, श्रेष्ठ भन्छन्, ‘महिलाहरुले तयारी गर्दै होलान् उम्मेदवारी घोषणाका लागि, कांग्रेसमा नेतृत्व क्षमता भएका एकसे एक महिला छन् ।’

कांग्रेसमा अहिले आठ तहका संरचना छन् । केन्द्रीय कार्य समिति १, प्रदेश कार्य समिति ७, जिल्ला कार्य समिति ७७, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति १६५, प्रदेशसभा क्षेत्रीय कार्य समिति ३३०, गाउँ/नगर/उप तथा महानगर कार्यसमिति ७५३ र वडा कार्य समिति ६ हजार ७४३ को संरचना छ । यी आठै तहमा ३३ प्रतिशत महिलाको आरक्षण गरिएको छ । तर केन्द्रीय पदाधिकारीमा आरक्षण छैन ।

के पदाधिकारी तहमा पुग्ने गरी कांग्रेसले महिला नेतृत्व नहुर्काएको हो त ?

कांग्रेस नेतृ एवं सांसद पुष्पा भुसाल कांग्रेसले पार्टीको संरचनामा केन्द्रदेखि वडासम्म ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नु पहिलेको दाँजोमा अहिले महिला सहभागिता बढाउनुजस्ता पक्ष सकारात्मक भएको बताउँछिन् । तर पार्टीको केन्द्रीय पदाधिकारी र निर्णायक तहमा महिला प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनी बताउँछिन् ।

सबै तहमा महिला समावेशी समानुपातिक सुनिश्चितताका लागि राजनीतिक दलसम्बन्धी ऐन संशोधन हुनपर्नेमा पनि भुसालको जोड छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वमा अहिले पदाधिकारीमा सीतादेवी यादव मात्रै छिन् । उनी १३औं महाधिवेशनमा कोषाध्यक्ष बनेकी हुन् । तर यो पदमा उनी मनोनित भएकी हुन् ।

कांग्रेसको शंसोधित विधानअनुसार पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ र कोषाध्यक्ष एक जनाको व्यवस्था गरिएको छ ।

कांग्रेसले गरेको पटक–पटकको राजनीतिक आन्दोलनमा महिलाले पुरुषसँगै अग्रमोर्चामा सहभागिता जनाए पनि पार्टीको निर्णायक तहमा अझै पनि महिला सहभागिता कमजोर छ ।

नेतृ भुसालको कांग्रेसले महिलालाई प्रतिनिधित्वमा मात्रै नभई नेतृत्वमा पनि स्थापित गर्नुपर्नेमा जोड छ । पार्टीमा मात्र होइन संसदीय निर्वाचनका बेला पनि जित्ने स्थानमा महिला उम्मेदवारलाई टिकट दिनुपर्ने भुसाल बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?