धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पार्टीको अधिवेशन सुरु भएपनि विवाद भने थप उत्कर्षमा पुगेको छ ।
पार्टी कार्यकर्ताबीच अधिवेशनको विषयलाई लिएर कुटाकुट र झडप हुन लागेपछि सुरक्षाकर्मी खटाई यही २५ गतेदेखि जिल्लामा अधिवेशन सुरु गरिएको थियो । देउवा पक्षहरु अधिवेशनमा भाग लिएतापनि अर्को पक्षले विरोध गर्दै आइरहेको छ ।
आइतबार जिल्लामा पत्रकार सम्मेलन गर्दै निर्वाचन अधिकृतले कुनै समन्वय नगरी एकलौटी रुपमा गरेको वडा अधिवेशन स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् । पार्टी कार्यालय किसून जी भवनमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्य समितिको समन्वयमा गरिएको अधिवेशनलाई मात्रै स्वीकार गर्ने जनाएको हो।
पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ति नै जारी गर्दै अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा पार्टीका केन्द्रीय सभापति देउवा कहिकतै संवेदनशिल नदेखिएको आरोप लगाए।
‘जिल्ला कार्य समिति डडेल्धुराको अधिक लचकताका साथ राखिएको प्रसतावलाई समेत साथीहरुले अवज्ञा गर्दै यहि भदौ २५ गतेका दिन राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापति ज्यूको हस्तक्षेपमा पार्टी भित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेरा भित्र सिमित राखि केही सिमित क्रियाशिल सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गर्नुभयो। उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली कांग्रेस डडेल्धुराको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ।
साथै उनले डडेल्धुराका लागि खटाइएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले कार्य समितिसँग एउटा फोन समेत नगरी निर्वाचन प्रक्रिया अघि बढाएको बताए । ‘वडा अधिवेशन गर्न नसकिने भनि नेपाली कांग्रेस डडेल्धुराको मिति २०७८ भाद्र २२ गतेको निर्णय तथा मिति २०७८ भाद्र २३ गतेको वडा सभापति र पालिका सभापति ज्यूहरुको बैठकले समेत क्रियाशिल सदस्यताको विवाद सामाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनि निर्णय गर्दागर्दै पनि एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकुल बनाई अज्ञात स्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाउनुभयो’ विज्ञप्तिमा उल्लेख छ।
साथै कांग्रेस डडेल्धुराले विधिवत रुपमा वडा अधिवेशन नभएसम्म कार्यसमिति मातहतका सम्पूर्ण समितिहरु यथावत रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया