महेन्द्रसालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै शुक्रबार (आज)बाट महेन्द्रसालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ ।

ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रसालिक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।

नयाँ जडान गरिएको महेन्द्रसालिक चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् भने नक्साल भगवतीको ट्राफिक लाइट एसएसपी भट्टराई र बैंकका सीईओ प्रबिन बस्नेतले गरेका हुन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौँ, यसको लागि विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं । आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ’, भट्टराईले भने, ‘प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।’

कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाइट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने समेत बताए ।

बैंकका सिईओ बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट महत्वपुर्ण सहयोगी बन्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा समन्वय एव सहकार्य गर्दै जाने बताए ।

उद्‌घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानिय निकायका पदाधिकारीहरू, सहयोगी संस्थाका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा लाइट जडानको लागी समन्वय एवं सहकार्य भैरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?