शुक्रबारदेखि महाधिवेशनको घान हाल्दै कांग्रेस

काठमाडौं । आगामी मंसिरमा हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि वडा अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । वैधानिकताबाट जोगिन कांग्रेसले यही भदौ १८ बाट वडा अधिवेशन गर्न लागेको हो । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुनमा भएको थियो ।

कोरोना, क्रियाशील सदस्यता विवाद लगायतका कारण २०७६ फागुनमा हुनु पर्ने १४ औं महाधिवेशन पछि धकेलिदै आगामी मंसिर ९ बाट १३ गतेसम्म हुनेगरी मिति तय गरिएको हो ।

वडा अधिवेशन कांग्रेस महाधिवेशनको प्रारम्भिक चरण हो । क्रियाशील सदस्यले वडाको नेतृत्व चयन गर्छन् । कांग्रेसमा झण्डै १० लाख क्रियाशील सदस्य छन् । कतिपय जिल्लाको क्रियाशील सदस्यको सूची तयार पारेर सम्बन्धित जिल्लामा पठाइएको छ । बाँकी जिल्लाको पनि धमाधम छपाइको काम भइरहेको एक कांग्रेस नेताले लोकपथलाई बताए ।

कांग्रेसमा १३ औं महाधिवेशनभन्दा १४ औं महाधिवेशन प्रक्रियागत हिसाबले अलि झण्झटिलो छ । क्रियाशील सदस्यले छान्ने क्षेत्रीय गाउँ÷नगर र वडा प्रतिनिधिहरूले जिल्ला, क्षेत्र, प्रदेश र केन्द्रीय प्रतिनिधि छान्ने महासमिति सदस्य समेत निर्वाचित गर्नेछन् । त्यसकारण क्रियाशील सदस्यतामा यसपटक धेरै विवाद भएको थियो ।

धेरै विवाद देखिएका वडा र क्षेत्रका क्रियाशील सदस्यको विवाद १५ औं महाधिवेशनमा सल्टाउनेगरी सहमति भएपछि महाधिवेशनको बाटो खुलेको हो । कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद यही भदौ २३ मा सकिँदैछ । त्यसअघि नै कांग्रेसले महाधिवेशन सुरु भएको सन्देश दिन वडा अधिवेशनबाट घान हालेर सुरु गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामकृष्ण यादवले क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएका जिल्लामा १८ गतेबाटै वडा अधिवेशन सुरु हुने र नभएका जिल्लामा एक–दुइ दिन ढिला हुनसक्ने लोकपथलाई बताए ।

संस्थापन इतर पक्षले टुंग्याउन सकेन सभापतिको उम्मेदवार

वडा अधिवेशन अघिनै कांग्रेस संस्थापन इतर पक्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको उम्मेदवार टुंग्याउने कसरत गरे पनि सहमति जुट्न सकेन ।

सभापतिको उम्मेदवार अहिले नै घोषणा गर्दा कार्यकर्तालाई आफूतिर तान्न सकिने आंकलन सो पक्षको रहेको थियो । तर पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ सभापतिका आकांक्षी भएपछि सहमति नजुटेको हो ।

पौडेल समूहमा सभापति मात्र होइन अन्य पदाधिकारीमा पनि सहमति जुट्न सकेको छैन । पौडेल पक्षले संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदार तय गर्ने बताएको छ । तर गुरुङले भने आजै सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

उता संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठ सभापतिका दाबेदार रहेका छन् । निधिले त सम्पर्क कार्यालय नै स्थापना गरेर महाधिवेशनका लागि अघि बढिसकेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?