नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ । केपी शर्मा ओली एमालेको अध्यक्ष छन् भने माधव नेपालले नेकपा एमाले (समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको आन्तरिक कलहले अन्ततः पार्टी नै फुट्यो ।
पार्टी विभाजनको मुख्य दोषी एमाले अध्यक्ष ओली नै भएको एमालेका निवर्तमान केन्द्रीय सदस्य एवं नवगठित नेकपा एमाले (समाजवादी)का नेता प्रेमल खनालको आरोप छ । खनाल भन्छन्, ‘ओलीको अहमता र सर्वसत्तावादका कारण उनले न दुई तिहाइको सरकार टिकाए, न पार्टी एकता जोगाए, न त आफ्ना कमजोरी नै स्वीकारे । उनी गुटमै रमाएर पार्टीमा सल्लाह गरेनन्, परिणाम पार्टी नै फुट्यो ।’
अब एमालेबाट माधव नेपाल बाहिरिएपछि ओलीलाई आउँदा दिन सहज छन् त ? उनले अब एमालेमा रहेका नेताहरूलाई कसरी व्यवस्थापन गर्लान त ? आगामी निर्वाचनमा के गर्लान् त ओलीले ? एमालेभित्र यी सवालहरू महत्वपूर्ण रहेका छन् ।
आजीवन अध्यक्ष बन्ने आकांक्षा
एमाले स्रोतका अनुसार ओलीले आजीवन पार्टी नेतृत्व सम्हाल्ने महत्वकांक्षा राखेका छन् । ओलीकै महत्वकांक्षाका कारण ‘आई एम विथ केपी ओली, आज होइन भोलिलाई , दश वर्ष ओलीलाई’ जस्ता नारा ओली निकट कार्यकर्ताले सडकमा लगाउने गरेका छन् । स्रोतको दाबीअनुसार यो भनेको अब १० वर्षसम्म पार्टी र एमाले सरकारमा जाने अवस्था भएमा ओलीले नेतृत्व नछाड्ने संकेत हो ।
एमाले विभाजन नभएको भए र भोलि पार्टीमा आफू अध्यक्ष नबन्ने अवस्था भएको खण्डमा उनी शंकर पोखरेललाई अध्यक्ष बनाउने तयारीमा थिए । तर अब एमालेभित्र त्यो राजनीतिक परिस्थिति रहेन । आगामी महाधिवेशनमा पोखरेललाई महासचिव बनाएर ओली अध्यक्ष बन्नेछन् । यो अवस्थामा अरु नेताहरू नेतृत्वमा पुग्नबाट रोकिनेछन् । ओलीले बाटो नखोल्दासम्म अरुले एमाले अध्यक्ष बन्ने सपना नदेखे पनि हुन्छ । ओली पक्षकै एक नेता भन्छन्, ‘एमालेमा महासचिवको खासै भूमिका हुँदैन, ऊ कारिन्दा मात्रै हो ।’ यसकारण ओलीले आफ्नो समूहमा रहेका नेताहरूलाई कसरी व्यवस्थापन गर्लान्, त्यो चासोको विषय रहेको छ ।
पोखरेलबाहेकका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत ओली पक्षका अरु नेतालाई व्यवस्थापन गर्न त्यति सहज छैन ।
त्यसैगरी नेपाललाई अन्तिममा साथ छोडेका नेताहरू भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, रघुजी पन्तलगायत नेतालाई पनि व्यवस्थापन गर्न ओलीलाई चुनौती छ । उनीहरू ओलीका कट्टर आलोचक हुन् । यद्यपि उनीहरू एमालेमै रहन्छन् या नेपालसँग जान्छन् त्यो अझै प्रस्ट छैन ।
असन्तुष्ट पक्ष नेपालतिर जान सक्ने
आफ्ना विरोधीलाई ओलीले मन पराउँदैनन् । ओलीले पार्टीभित्र गरेका राम्रा कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्ने हिम्मत उनी पक्षका नेताहरूमा छैन । नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेकाले ओलीसँग असन्तुष्ट रहेका नेताहरू नेपालको पार्टीमा नजालान् भन्न सकिन्न ।
नेपालको कम्युनिस्ट आन्दोलन टुटफुटबाटै अघि बढेको छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी केही टाठाबाठा र पदप्राप्तिको लोभ गर्ने व्यक्तिका कारण कम्युनिस्ट पार्टीहरू फुट्ने गरेको बताउँछन् ।
एमालेको फुटले ओली र नेपाल दुवैलाई घाटा हुने उनको ठम्याइ छ । तर ओलीले भने एउटा समूह एमालेबाट टुक्रिएर जाँँदैमा पार्टीलाई केही पनि फरक नपर्ने दाबी गरेका छन् ।
फेरि ओली र नेपाल मिल्लान् ?
२०५४ मा महाकाली सन्धि पास गर्ने कि नगर्ने भन्ने विवाद चुलिएपछि वामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेका थिए ।
२०५८ मा फेरि उनी एमालेमै आए । विश्लेषक केसी विगतको स्थिति हेर्दा ओली र नेपालबीच भविष्यमा मिलन हुनसक्ने बताउँछन् । किनकि पार्टी फुट्दा दुवैलाई घाटा छ । त्यतिबेला प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले विभाजनपछि २०५६ मा भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलमा खुम्चिन पुगेको थियो । नेपाली कांग्रेस सत्ता सम्हाल्न पुगेको थियो ।
तर केसी भन्छन्, ‘उही घटना सधैँ नहोहोरिन सक्छ नेपाल बलियो हुन सक्छन् ।’ अन्तिममा नेपाललाई छोडेर बसेका नेताहरूले पार्टी एकतामा भूमिका खेल्नसक्ने पनि केसीको भनाइ छ ।

अब स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन पनि अर्काे वर्ष हुँदै छ । पहिला स्थानीय तहको निर्वाचन सुरु हुनेछ । यदि ओली र नेपाल नमिलेमा दुवैले चुनावमा राम्रो नतिजा ल्याउन नसक्ने निश्चित छ । त्यसको फाइदा कांग्रेसलाई हुनसक्छ ।
माओवादी केन्द्र र नेपाल पक्ष निर्वाचनमा मिलेर जाने सम्भावना पनि उत्तिकै छ । यसो हुँदा एमालेको भोट प्रभावित हुनेछ । ओली र नेपाल मिल्न नसके कार्यकर्तामा नैराश्यता आउन सक्ने पनि कतिपयको विश्लेषण छ । फुटेको एमालेको अध्यक्ष बनेका ओलीले कसरी एमालेलाई व्यवस्थित बनाउनेछन् भन्ने कुराले नै सो पार्टीको भविष्य निर्धारण गर्नेछ ।
ओलीले आफूसँग बसेका नेताहरूलाई आश्वस्त पार्ने प्रयास गर्छन् या फेरि एउटा गुटको मात्रै नेता बन्ने बाटोमा लाग्छन् ? त्यसले नै ओलीको अबको गन्तव्य निर्धारण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया