काठमाडौं । सर्वोच्च अदालतको फैसलबाट दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना भएपछि शुरु भएको चालु संसद अधिवेशनको आज अन्त्य भएको छ ।
नेपाल सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको जानकारी आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।
पुनःस्थापित संसद् एक महिना नपुग्दै अन्त्य भएका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका मुख्यसचेतक विशाल भट्टराईले अधिवेशनको अन्त्य ‘असमय’मा भएको प्रतिक्रिया दिए । उनले अघिल्लो सरकारले ल्याएका १५ महत्वपूर्ण अध्यादेशमाथि छलफल नभएको र नयाँ विधेयक नल्याइएको बताए । उनले भने, “सदनमा सरकारको बहुमत भएपनि अध्यादेश बजटेलाई प्रतिस्थापन विधेयक ल्याउन सक्नुपथ्र्यो । हिजो हाम्रो पार्टीका अध्यक्ष ओलीले संसद् विघटन गर्दा प्रतिगमी भन्नेहरुले लोकतान्त्रिक ढङ्गले संसद् चलाउन सकेको भए हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो ।”
सत्तारुढ कांग्रेसका सचेतक पुष्पा भुसालले भने नयाँ सरकारले बजेट र विधेयकबारे तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य भएको बताउँदै सरकार सदनलाई बिजनेस नदिने र सदन छल्ने भन्ने हुन नसक्ने जनाए । उनले भने, “सरकारले विधेयक र अध्यादेशहरुको आवश्यक तयारी तथा परिमार्जन गर्छ र त्यसलाई उचित समयमा संसद्मा पेश गर्नेछ ।” सरकारले सदन अन्त्य गरेपछि दल विभाजनसम्बन्धी ल्याउन लागेको हो भन्ने प्रश्नमा नेत्री भुसालले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।
जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले पहिलो पटक प्रतिनिधिसभा विघटन भएकामा आफूहरुले पनि विरोध गरे पनि पुनःस्थापनापछिको सदनले बिजनेश नपाएको, सरकारले विश्वासको मत नपाउनुका साथै नयाँ सरकार पनि दिन नसकेकाले दोस्रो पटक विघटन भई ताजा जनादेशमा जानु उपयुक्त नै भए पनि सर्वोच्च अदालतको फैसलापछि त्यसको कार्यान्वयन भएको तर यस अधिवेशनले कुनै नयाँ कानून ल्याउन सकेन ।
उनले नागरिकतालगायतका विधेयक तीन÷चार वर्षदेखि विचाराधीन स्थितिमा रहँदा सदनमा छलफल हुन नसक्नु राम्रो नभएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया