सबै वडामा आफ्नै भवन बनाउँदै काठमाडौं महानगर, १६ नम्बर वडाको भवन शिलान्यास

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकालेसबै वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण कार्यलाई तिव्रता दिएको छ ।

आफ्नै कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह गर्ने नीति अनुरुप महानगरपालिकाले भवन निर्माण कार्यलाई तिव्रता दिएको हो ।

यसैक्रममा शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ को भवन निर्माणका लागि शिलान्यास भएको छ ।

महानगरपालिकाकै नाममा २० आना बढी जग्गा गरिद गरेर अत्याधुनिक भवन निर्माण गर्ने उद्देश्यका साथ भवन निर्माणको शिलान्यास भएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

जग्गानै खरिद गरेर कार्यालय भवन निर्माण गर्न लागिएको वडा नम्बर १६ नै पहिलो भएको रिजालको भनाइ छ ।

बालाजु–चमतीमा निर्माण गर्न लागिएको कार्यालय भवनको शिलान्यास शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच गरे ।

सो कार्यक्रममा बोल्दै शाक्यले सबै वडामा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ वडा नम्बर १६ मा आज शिलान्यास गरिएको बताए ।

उनले काठमाडौंलाई आधुनिक शहर बनाउन महानगर क्रियाशील रहेको बताउँदै त्यसअनुरुप विभिन्न पूर्वाधार विकास र विकास निर्माणका कामहरु गरिरहेको बताए ।

यस्तै उपमेयर हरिप्रभा खड्कीले वडाको आफ्नै भवन हुनु खुसीको कुरा भएको बताइन् । उनले १६ नम्बर वडाले जमिन समेत आफैँ खरिद गरेर नागरिकलाई सेवा दिन कार्यालय भवन बनाउने प्रक्रिया थाल्नु प्रशंसनीय कार्य भएको समेत बताइन् ।

यस्तै वडाध्यक्ष रिजालले ८ करोड ५० लाखमा जग्गा खरिद गरेर वडा भवन निर्माण गर्न लागिएको जानकारी दिँदै निर्माण कम्पनीसँग २०७९ फागुन १५ गतेभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको बताए ।

त्यसका लागि गौरी पार्वती/के एण्ड केजी/समित जेभीसँग ६ करोड ६६ लाख ५७ हजार २०७ रुपैयाँमा सम्झौता भएको छ भने सबै गरी भवन निर्माणमा ११ करोड ५२ लाख खर्च हुने अनुमान गरिएको छ।

यसरी जग्गा र भवनमा गरी २० करोड बढी खर्च हुने अनुमान महानगरपालिकाको छ । काठमाडौंको मौलिक कला संस्कृति झल्कने गरी निर्माण हुने अत्याधुनिक भवन साढे ६ तलाको हुनुका साथै भवन अपाङ्गमैत्री हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?