भरतपुर मेट्रो प्लाजा निर्माणसम्बन्धी सम्झौता, तीन वर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य

लोकपथ
49
Shares

चितवन । भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङबीच भरतपुर मेट्रो प्लाजा निर्माणसम्बन्धी सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र सञ्चालन गरी आइतबार भएको सम्झौताको मितिले ३ वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको भन्दै यो परियोजनाले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

पछिल्लो समय नेपाली समाजको सुविधा सम्पन्न मल तथा अपार्टमेन्टप्रति आकर्षण बढिरहेको बताउँदै प्रमुख दहालले यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्ने गौरभको आयोजना भएको बताइन् ।

उनले यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न बिल्डर्सलाई आग्रह गरिन् । सो अवसरमा प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, ६ लेन सडक, स्मार्ट सडकलगायतका आयोजनाहरू सम्पन्न हुँदा भरतपुरको मुहार फेरिने बताइन् ।

परियोजना निर्माण तथा सञ्चालनसम्बन्धी सम्झौता कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना निर्माण सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न बिल्डर्सलाई आग्रह गरिन् । सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने बताए ।

सम्झौता कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अघ्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहुतले व्यावसायिक भवन चितवनकै आइकोन परियोजना हुने बताउँदै समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको थप परिचयको रूपमा रहने विश्वास व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडि बढाएको भरतपुर महानगर र बिल्डर्सलाई धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा वडा न ३का वडाध्यक्ष चन्द्र मित्र पण्डित लामो प्रयासपछि आफ्नो वडामा विशाल परियोजना भरतपुर मेट्रो प्लाजा निर्माणको संझौता भएकोमा खुसी व्यक्त गर्दै आफू र वडावासीको तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?