लेखानीमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा, अब एक घण्टाको बाटो दश मिनेटमै

RSS
273
Shares

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो ।

पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो । यो पुलले कादेशका झण्डै ४०० घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ ।

गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार हुन लागेको हो। इञ्जिनीयर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी छ । विसं २०७६ को जेठमा सम्झौता भए पनि कोरोना सङ्क्रमणले छ महिना म्याद थपेको मुक्तिनाथ निर्माण सेवाले केही समयमै कामसक्ने आश्वासन दिएको छ ।

घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकामा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने जनाउँदै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गरिन् । ‘लेखानी गाउँमै तरकारी पठाउनुपर्दा पनि गाडी चाहिन्थ्यो, अब डोकोमै बोकेर पनि छिट्टै पठाउन सकिने भयो’, उनले भनिन्, ‘गाउँपालिका केन्द्र जान झनै सजिलो भएको छ ।’ यो बाटो छोटिएपछि पालिका केन्द्र आइपुग्न एक घण्टा छोटो हुने उनले बताए।

दुई वर्षअघि वर्षातमा यहाँ खसेको पहिरो र खोलाको बाढीले लेखानीदेखि कादेश जोड्ने सडकमा क्षति पुर्‍याएको थियो । खोलाको पुरानो झोलुङ्गे पुल पनि बगेपछि लेखानी मावि आउने विद्यार्थीलेसमेत सास्ती खेपेका थिए । खोला तर्न नसक्ने भएकाले अभिभावकले छोराछोरी पठाउन पनि सकेका थिएनन् । साउन र भदौ महिनामा धेरै बालबालिका विद्यालय आउनै नसक्दा पढाइ अवरुद्ध थियो । यो पुल बनेपछि भने सहजै यात्रा गर्न सकिने भएको हो ।

पछिल्लो समय अग्ला र लामा पुल बनाउन नेपाली प्राविधिक नै सक्षम भएको सो कार्यालय प्रमुख सोभियत खड्काले जानकारी दिए । ‘यस्ता पुल निर्माण हुँदा विद्यालय र बजार छोटिएर स्थानीयले सुख पाएका छन्’, उहाँले भने, ‘घण्टौँ हिँड्नुपर्ने बाटो १० मिनेटमा छोटिँदा बुढापाकालाई उपचारमा पहुँचसमेत बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?