काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशनको विकल्प ल्याएका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बिहीबार बसेको पौडेल पक्षका नेताहरुको बैठकले विशेष महाधिवेशनको कुरा अघि सारेको हो । वरिष्ठ नेता पौडेलले आगामी भदौ २३ पछि कांग्रेसको वर्तमान कार्यसमितिको वैधानिकता सकिने र भदौमै महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै कांग्रेसका ४२ जना युवा नेताहरुले तोकिएकै समयमा महाधिवेशन गर्न आग्रह गर्दै बिहीबार नै पार्टीको ध्यानकर्षण गराएका छन् । कांग्रेसको १४ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म गर्नेगरी मिति तय गरिएको छ । तर महाधिवेशनका लागि साउन १२ देखि हुने भनिएको वडा तहको अधिवेशन हुन नसकेपछि स्थगित गरिएको छ । अर्काे कार्यतालिका ल्याइएको छैन ।

संस्थापन अर्थात पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन नगर्ने सुइँको पाएपछि पौडेल पक्षले विशेष महाधिवेशनको कुरा उठाएको हो । यसअघि पनि विशेष महाधिवेशनको कुरा छिटफुट रुपमा उठे पनि त्यसबारे धेरै बहस भएको थिएन ।
के हो विशेष महाधिवेशन ?
वरिष्ठ नेता पौडेलका अनुसार विशेष महाधिवेशन भनेको महाधिवेशन हुन नसकेको अवस्थामा अन्तिम विकल्पका रुपमा पार्टीको बैधानिकता जोगाउन गरिने अस्थायी प्रकारको व्यवस्था हो ।
१३औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट छोटो बाटोबाट केही महिनाका लागि विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्न सकिने पौडेल बताउँछन् । ‘तर यो रहर नभएर बाध्यता हो, उत्तम विकल्प भने होइन’ नेता पौडेलको भनाई छ । यद्यपि भदौमा नै महाधिवेशन गर्न तत्काल प्रक्रिया सुरु गर्नुपर्ने उनी बताउँछन् ।
विशेष महाधिवेशनप्रति पौडेल पक्षकै नेताको असन्तुष्टि
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ विशेष महाधिवेशनलाई कांग्रेस पार्टी विधानले नचिन्ने भन्दै त्यतातिर बहस गर्नु कुनै औचित्य नभएको बताउँछन् ।
‘हामी तत्काल तोकिएकै मितिमा महाधिवेशनको गर्नेगरी प्रक्रिया सुरु होस् भन्ने पक्षमा छौ’, गुरुङले लोकपथसँग भने ।
आमरण अनशन बस्ने चेतावनी
तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिदै बिहिबार ज्ञापन पत्र बुझाउने ४२ जना युवा नेतामध्येका पूर्वसांसद रञ्जित कर्णले निर्धारित समयमा महाधिवेशन नभए देशैभर कांग्रेस कार्यकर्ता आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् ।
उनले लोकपथसँग भने, ‘अहिलेकै नेतृत्वबाट कांग्रेस अघि बढ्न सक्दैन, स्थानीय तह निर्वाचन आउँदै छ एकजुट भएको कांग्रेसले मात्रै स्थानीय निर्वाचनमा जित हासिल गर्न सक्छ।’ गुरुङले भनेजस्तै कर्णले पनि आफूहरु विशेष महाधिवेशनको पक्षमा नरहेको बताए ।
विशेष महाधिवेशनको विपक्षमा देउवा
पार्टी सभापति देउवा पनि विशेष महाधिवेशनको विपक्षमा रहेका छन् । देउवा निकट रहेका कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन्,‘पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन हुने संभावना मैले कम देखेको छु ।’
यस्तो हुँदा विभिन्न पार्टीबाट कांग्रेसमा समायोजित भएर आएका सदस्यहरु समेत महाधिवेशन प्रतिनिधि हुने अवसरबाट बञ्चित हुने संभावना रहेको घिमिरेको भनाई छ । त्यस्तै बिभिन्न पार्टीबाट कांग्रेसमा आएका नयाँ व्यक्तिहरु समेत अधिवेशनमा भाग लिने प्रक्रियाबाटै वञ्चित हुने हुँदा उनीहरुले पनि विशेष महाधिवेशन अस्विकार गर्न सक्छन् ।
पौडेल पक्षको भय र देउवाको रणनीति
कांग्रेसले संवैधानिक प्रावधान अनुसार पनि भदौमा महाधिवेशन गर्नै पर्ने हुन्छ । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन तेस्रो साता काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने र विषम परिस्थिति हेरेर एक वर्ष लम्ब्याउन सकिने भन्ने छ ।

यस हिसावले कांग्रेसको १४औं महाधिवेशन २०७६ फागुनमा सम्पन्न भैसक्नु पर्ने थियो । तर त्यतिबेला कोरोना जोखिमले महाधिवेशन हुन नसकेपछि पार्टी विधान बमोजिम १ वर्ष पर धकेलियो अर्थात २०७७ फागुनमा कांग्रेसले महाधिवेशन गर्ने निर्णय गर्यो । तर कोरोना महामारीका कारण वडा तहदेखिका अधिवेशन हुन नसकेपछि २०७७ फागुनमा पनि महाधिवेशन हुन सकेन र कांग्रेसले राजनीतिक दलसम्बन्धी प्रावधान रहेको संविधानको धारा २६९ को उपधारा ४ (ख) बमोजिम ६ महिना पर सारेर २०७८ भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
पार्टीे विधानले ४ र राजनीतिक दलसम्बन्धी ऐनले ५ वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा त्यो समयभित्र पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाको सहारा लिएको हो ।
संविधानअनुसार कांग्रेसलाई आउँदो भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था हो । तर भदौ १६ देखि १९ का लागि घोषित मितिमा महाधिवेशन नहुने लगभग पक्का छ । किनकि कांग्रेसको महाधिवेशन निर्वाचन समितिले महाधिवेशनका लागि सबै प्रक्रिया पूरा गर्न झण्डै ५२ दिन समय लाग्ने जनाएको छ ।
प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै चलाउनुपर्ने दबाबमा छन् । त्यसैले उनी भरिसक्य महाधिवेशन पर सार्ने र आफू अनुकुल समय मिलाउँदा पुन सभापतिमा दोहोरिन सजिलो होस भन्ने दाउँमा छन् । यदि भदौमै महाधिवेशन भएको खण्डमा सरकारले अहिले जनताका लागि खासै कार्यक्रम ल्याउन नसक्दा कार्यकर्ता पौडेल तिर जालान भन्ने चिन्तामा छन् ।
उता पौडेल पक्ष पनि देउवाले महाधिवेशन पर सारे भने केही लोकप्रिय कार्यक्रम ल्याएर आफूहरुको गुटका कार्यकर्तालाई देउवाले तानेर लैजाने हुनकि भन्ने भयमा छन् । त्यस्तै देउवा सरकारमा रहेकाले कार्यकर्तालाई विभिन्न प्रलोभनमा पार्न सक्ने पनि पौडेल पक्षको आशंका छ ।
महाधिवेशन सार्ने कारण
देउवा पक्षका नेताहरुले कांग्रेसले महाधिवेशन सार्न कोरोनाको जोखिम, कार्यकर्तालाई आवत जावतका लागि बर्खामा बाढी पहिरोको समस्या, सर्वाेच्च अदालतले कोरोना कालमा भएको लकडाउन र निषेधाज्ञालाई सून्य समय मानेका जस्ता कारणलाई महाधिवेशन सार्ने आधार बनाएका छन् ।
त्यसैगरी विवाद समाधान हुन बाँकी क्रियाशील सदस्यतालाई पनि महाधिवेशन सार्ने आधार बनाइदै छ ।
सुरुचाहिँ भदौबाटै
साउन १२ मा स्थगित वडा तहको अधिवेशन प्रक्रिया भने भदौ दोस्रो साताबाट सुरु गर्ने र त्यसलाई लम्ब्याएर केन्द्रीय महाधिवेशन भने मंसिरतिर गर्ने एकथरी कांग्रेस नेताहरुको भनाइ छ ।
त्यसो गर्दा कांग्रेस महाधिवेशन भदौमा नै सुरु भएको सन्देश जान्छ र वैधानिकतामा प्रश्न उठ्ने छैन भन्ने उनीहरुको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया