चामेको झोलुङ्गे पुल बगायो : आवतजावतमा सकस

RSS
91
Shares

मनाङ । मङ्गलवार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ ।

जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।

गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङदी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अबिरल वर्षाका कारण आज चामेको झोलुङ् पुल पनि बगाएपछि यात्रा झन् सकस बनेको हो ।

माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उनले भने, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मर्स्याङदी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्‍याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उनले भने।

चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढीपहिरोले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?