विराटनगर । खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य शुरु भएको छ ।
खाडल खनेर यत्तिकै छाडिंदा खोलाको बाढीले घर भास्सिने हो कि चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण शुरु भएसंगै हर्षित भएका छन् ।
सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका हुन् ।
असारको पहिलो साता खाडल खनेर स्थानीय उपभोक्ता समितिले सुरु गरेको सो निर्माण कार्य बाढी र डुबानका कारण स्थगित गर्नु परेको थियो । खोलाको सतह बढेसँगै पानीले माटो कटान गर्दै लगेपछि स्थानीयबासी घर भत्काएरै लैजाने डरले त्रसित भएका थिए ।
केही दिन अघिदेखि सो खोलाको तटबन्ध निर्माणको काम पुनः सुरु भएपछि स्थानीय बासिन्दाले राहतको महशुस गरेका छन् ।
यतिखेर आवश्यक उपकरणसहित १० जना मजदुरको समुह निरन्तर तटबन्धको निर्माण कार्यमा खटिएका छन् ।
उनीहरु निर्माणस्थल नजिकै रहेको तीनपैनी स्पोर्टिङ क्बलको एककोठे भवनमा क्याम्प राखेर निर्माण कार्यलाई निरन्तरता दिइरहेका छन् ।
कुनै बाधा अवरोध बिना निरन्तर काममा खटिनपाए आउँदो २/३ दिनभित्रै सम्झौता अनुसारको तटबन्ध निर्माण गरिसक्ने मजदुरहरुले बताएका छन् ।
संघीय सरकारको ‘तराई–मधेश समृद्धि कार्यक्रम’ अन्र्तगत उक्त क्षेत्रमा झण्डै १० लाख रकमको बजेटबाट ३७ मिटर लम्बाईको तटबन्ध निर्माण गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।
यसअघि आफूहरुले निर्माण कार्य शुरु गराएको भएपनि असारको दोस्रो साता खोलाको सतह बढेका कारण ल्याइएका मजदुरहरुले काम गर्न नमानेपछि केही दिन निर्माण कार्य प्रभावित भएको उपभोक्ता समितिको भनाई छ ।
यद्यपि फेरी काम शुरु भएको र आउँदो केही दिनमै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष शिला दिक्षीत कार्कीले बताए । खोलाको पानीको सतह बढ्ने तथा बाढी आउन सक्ने साउन र भदौ महिना बाँकी रहेका कारण यसअघि निर्माण रोकिएपछि सुकुम्बासी परिवारमा चिन्ता छाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया