स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

काठमाडौँ, १७ चैत- पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो ।पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा खड्का जेलसम्म पुगे । ०५८ मा विशेष अदालतमा मुद्दा परेपछि उनको राजनीतिक जीवनमाथि अंकुश लाग्न थालेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भए । २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गर्‍यो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । तर, ०७० मा जेलमुक्त हुँदा उनको समर्थनमा नारा लगाउँदै सयौँ कार्यकर्ता जेलबाहिरै पुगेका थिए । आफ्ना समर्थकलाई खड्काले कहिल्यै गुमाएनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।राज्यसत्तामा गृहमन्त्रीका रूपमा खड्का निकै चर्चित पात्र थिए । पार्टीमा महामन्त्रीसम्मको हैसियत बनाएका थिए । कांग्रेस फुटाएर शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक)मा उनी महामन्त्री थिए । उनी राजनीतिमा निडर, हक्की र फरवार्ड खेलाडीका रूपमा चिनिन्थे ।पार्टी फुट्दा देउवा पक्षमा लागेका खड्का पछि तत्कालीन संस्थापन पक्षमै फर्किएका थिए । १३औँ महाधिवेशनसम्म आइपुग्दा उनी पुनः देउवानिकटका नेताका रूपमा उदाए । देउवालाई पहिलोचोटि एकत्रित पार्टीको सभापति बनाउन भूमिका खेले । यतिसम्म कि अस्वस्थ हुँदा पनि उनले महाधिवेशन स्थलमै पुगेर देउवाका लागि भोट मागिदिए । त्यसो त महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा स्वयंले सानदार भोट ल्याए । खुला केन्द्रीय सदस्यमा डा. शेखर कोइरालापछि दोस्रो बढी मत ल्याएर निर्वाचित भएका थिए । पदको दुरुपयोग गरी सार्वजनिक पद धारणमा अयोग्य भए पनि पार्टीमा कहिल्यै कमजोर देखिएनन् । भ्रष्टाचारी प्रमाणित भए पनि उनलाई पार्टीले समेत केन्द्रीय समिति सदस्यबाट हटाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?