काठमाडौं ।धादिङ जिल्लाका सात गाउँपालिकाले आफ्ना नागरिकलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।निःशुल्क रगत उपलब्ध गराउनका लागि ती गाउँपालिकाले आवश्यक रकम समेत विनियोजन गरेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं, भक्तपुर, चितवन र पोखरा शाखासँग ती गाउँपालिकाले सम्झौता गरेको छ ।
स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट प्राप्त आधिकारिक परिचयपत्रका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायणकुमार श्रेष्ठले बताएका छन् ।
निःशुल्क रगत उपलब्ध गराउनका लागि बेनीघाट रोराङ गाउँपालिकाले १० लाख, गजुरीले पाँच लाख, ज्वालामुखीले पाँच लाख, खनियाबासले पाँच लाख ४५ हजार, गङ्गाजमुनाले तीन लाख, त्रिपुरासुन्दरीले दुई लाख ९७ हजार ५८० र रुबीभ्यालीले दुई लाख सोसाइटीलाई उपलब्ध गराएको छ ।
“ती गाउँपालिकाका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ”, सभापति श्रेष्ठले भने “आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको व्यवस्था मिलाएको छ ।”
ती गाउँपालिकाका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेका आधिकारिक कागजपत्र र बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया