पैसा तिर्न नसकेपछि अस्पतालमै बन्दक बनिन् सुत्केरी महिला

RSS
294
Shares

काठमाडौं । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । धनुषाकि एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।

अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन् ।

शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छिन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । बेगमकी ३१ वर्षीय श्रीमान मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैन् ।

लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको समीर नदाफले बताएका छन् ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ, न त काम ।

उनले भने, “दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाउ ” उनले उपचार खर्च तिर्न नसक्दा आफ्नो श्रीमती र नवजात शिशु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताए ।

समीरले आज बिहान राससको कार्यालयमा आएर उपचार खर्च जुटाई दिनका लागि गुहार मागेका छन् ।

उनले भने, “सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागे, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ ६० हजार घटेको छ ।

तपाईको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।”

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता बेगमको श्रीमान् समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् ।

“एउटा झोला र कापी लिएर हिँडेको छु”, दुःख सुनाउँदै उनले भनेयो, “कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ

। सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।” समीरले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उनले बताए ।

“यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन”, मलिन अनुहारमा उनले दुखेसो पोखे ।

शल्यक्रिया र औषधिको लागि ऋण खोजेर उनले करीब करीब ५० हजार उपचारमा रित्याइसकेका रहेछन् । उनले भने, “अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।” यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् ।

समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गरे । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाहे हुनसक्ने उनको दुःखेसो छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनकाअनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?