एमाले कार्यदल बैठक : कसले के भने ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।

बुधवार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरुले बताएका हुन् ।

बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए । एमाले विवादलाई भोलीसम्म टुंग्याइने पनि उनले बताए । उनले भने– ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ । कार्यदल भित्र हाम्रा छलफलहरु सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोली टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोली टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’

त्यस्तै कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रुपले अगाडी बढेको प्रतिक्रिया दिए । उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताए । आज साँझ सम्ममा थप छलफल हुने र भोली पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुंगोमा पुर्‍याउने उनले बताए । उनले भने– ‘हाम्रो छलफल गम्भिर छ । सकारात्मक छ । अहिले जे जति तयारीहरु भएका छन् । त्यो तयारीहरु आज दिनभरी आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ । हामी बस्यौँ । छलफल ग-यौँ । भएका तयारीहरुका बारेमा सुन्यौँ । जानकारी लियौँ । त्यसबाट हाम्रा तयारीहरुका लागि आज दिनभरीको समय चाहिन्छ भन्ने टुंगोमा हामी पुग्यौँ । यो तयारीको शिलशिलामा एक त यो कार्यदलको सुरुवातदेखि अनौपचारिक रुपमा भएका कुराहरु, त्यो भन्दा बाहिर विभिन्न तहमा भएका प्रयासहरु समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरु पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबैसँग कुरा गर्दै उहाँहरुको समेत फिडब्याक लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरु गरेका छौँ । त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महशुस ग¥यौँ र आज साँझ सम्ममा ति सबै काम भइसक्छन् । र भोली हामी फेरी बैठकलाई औपचारिक रुपमा शुरु गर्छौ । र भोली सम्भवत्ः बिहान ११ बजेदेखि बैठक बस्छौँ । र भरसक यसलाई चाडैँ हामी टुंगोमा पर्‍याउँछौँ ।’

कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशिल बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफुहरुले चाहेकै भाषामा सहमती खोज्न नजिक आइपुगको उहाँले बताउनुभयो । उनले भने– ‘जुन जुन मुद्दाहरुमा विवाद देखा परेको थियो । ति मुद्दाहरुमा समाधान खोज्ने सन्दर्भमा झन्डै झन्डै निष्कर्षमा पुगिरहेका छौँ । र एउटा छोटो अवधिमा हामीले समस्याहरुको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्नेकुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ । बैठक सकारात्मक रुपमा अगाडी बढेको छ । अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा(एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशिल बनाउने नेकपा(एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा (माओवादी)को तर्फबाट नेकपा(एमाले)मा एकताको सन्दर्भमै रहनुभएका साथीहरुको व्यवस्थापन गर्ने विषय र प्रतिनिधि सभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमती खोज्नुपथ्र्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ । एक प्रकारको अविश्वासले लामो समयदेखि हामीलाई परस्पर एकले अर्कोको विरुद्ध आरोप प्रत्यारोपमा उत्रिने परिस्थिति निर्माण भएको थियो । अन्तिममा अविश्वासको त्यो खाडल कम भएको छ विश्वासको वातावरण निर्माण भएको छ । एकले अर्काको समस्याहरु बुझ्ने एउटा पक्षले अर्को पक्षको मनोविज्ञान बुझ्ने र समाधानका लागि त्यही ढंगले परस्पर सदभाव र सहयोगी भुमिकाका साथ अगाडी बढ्ने अवस्था देखा परेको छ । हामी विषयवस्तुकै हिसाबले पनि धेरै बुँदाहरुमा सहमतीको नजिकमा छौँ । दिनकै हिसाबले नतोकौ तर हामीले गरेको लामो प्रयत्न, अनौपचारिक हिसाबले प्रयत्न जारी छ । यो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छ । आम दाजुभाई, दिदीबहिनी र कार्यकर्ताको अपेक्षा, चाहाना पुरा हुनेगरी हामीले परिणाम दिन्छौँ । सफलता प्राप्त हुन्छ । ’

सोमवारदेखि नेकपा (एमाले)को कार्यदल सक्रिय छ । आजको बैठकमा धेरै कुरामा सहमती नजिक पुगेको भन्दै भोलीको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरुले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?