को हुन् माओवादी नेता स्वर्गीय महादेव यादव ?

लोकपथ
280
Shares

रामनारायण यादव /जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको क्यान्सरबाट निधन भएको छ ।

तीनवर्षदेखि क्यान्सर पीडित नेता यादवको ५७ वर्षको उमेरमा सोमवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १४ मुलेलिया स्थित आफनै निवासमा निधन भएको उनका भतिज श्याम यादवल बताए ।

भतिज श्यामका अनुसार बाबासिर क्यान्सरबाट पीडित नेता यादवको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । समस्या समाधान नभएपछि पछिल्लो समय चितवन क्यान्सर अस्पतालका डाक्टरको सल्लाहमा घरमै राखेर औषधि उपचार गरिएको थियो ।

उनको आजै हिन्दु परम्परा अनुसार जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिएको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले लोकपथलाई जानकारी दिए । अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवसहितका शीर्ष नेताहरु सहभागि हुने कार्यक्रम रहेको उनले बताए ।

महादेव यादव को हुन् ?

साविक धनुषाको सहीद नगरनगरपालिका वडा नम्वर १ बालाबाखर घर भएका नेता यादव तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा शुरुदेखि नै सहभागि भएका थिए । उनले प्रदेश २ का विभिन्न जिल्ला महोत्तरी, धनुषा र सिरहाको कमाण्ड सम्हालेका थिए ।

नेता यादवले जेटियको स्थायी जागिर छोडेर उनले कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालिन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएर लागेका थिए ।

पछि उनलाई पार्टीले मूल्याकन गरी महोत्तरी र धनुषा जिल्लाको कमाण्डरको जिम्मा दिएको थियो । नेता यादव नेकपा माओवादीबाट संविधानसभाको २०६४ को पहिलो निर्वाचन धनुषाको क्षेत्र नम्वर ५ बाट निर्वाचन लडेका थिए ।

सोहि क्षेत्रबाट विजयी भएका डा.रामवरण यादव राष्ट्रपति भएपछि उप निर्वाचनमा पुनः उनी चुनाव लडेका थिए । त्यतिबेला पनि उनले पराजित भएका जिए । उप निर्वाचनमा नेकपा (एमाले) बाट रघुवीर महासेठ निर्वाचित भएका थिए ।

पछिल्लो समय नेकपा माओवादी विभाजन हुँदा नेता यादव वैद्य पक्षमा लागेका थिए । पछि बादलसँग उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा पुनः सक्रिय भएका थिए । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?