काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्दार र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।
आइतवार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् ।
राजनीतिका लागि अन्य कयौँ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारबीच प्रभावकारी समन्वय भएको बताए । विपद्मा परेकाहरुलाई राहत दिन चाहाने व्यक्तिहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् वितरण गर्नेगरी एकद्धार प्रणाली लागु गरिएको पनि उनले बताए ।
उनले भने– ‘संघीय सरकारको तर्फबाट गर्नुपर्ने प्रयासहरु गरिरहेका छौँ र प्रादेशिक सरकार र स्थानीय तहसँगको समन्वयलाई पनि हामी प्रभावकारी रुपले अगाडी बढाएका छौँ । राहतमा, पुर्नस्थापनामा राजनीति भयो कि भन्ने यहाँहरुले टिप्पणी गर्नुभएको छ । म स्पष्ट गर्न चाहान्छु सरकार मानविय प्रश्नमा राजनीति गर्न चाहादैन । राजनीति गर्नका लागि हाम्रा सामुन्यमा अरु धेरै एजेण्डाहरु छन् । मानविय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुर्नस्थापनाको प्रश्नमा, विपत जोखिम न्युनिकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन । बरु राहत, सहुलियतको नाममा विभिन्न ढंगले सहयोगहरु संगठित गर्ने सेलिबे्रटी स्टाइलमा केही केही ठाउँमा प्रकट हुने गरेका छन् । अब हामीले सरकारको तर्फबाट हुने राहतलाई, सहयोगलाई हामी केन्द्रीकृत र एकिकृत योजना अन्र्तगत डिस्ट्रिव्युट गर्छौ । स्वेच्छिक रुपमा सहभागी हुन चाहाने महानुभावहरुलाई पनि वान डोर सिस्टमबाट जिल्लाको सिडियो कार्यालयमार्फत् वितरण गर्ने प्रणाली विकसित गरेका छौँ । सरकार प्यासिभ होइन एक्टिभ छ ।’
गृहमन्त्री पौडेलले वर्षाका कारण पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने सम्भावना भएका ठाउँको नजिकमा मानविय तथा अन्य आवश्यक स्रोत, साधनहरुको व्यवस्थापन गरिएको बताए । उनले सडक सुचारु गर्न र मानिसको आवतजावत लाई सहज तुल्याउन सरकार केन्द्रीत भएर लागेको बताए।
उनले भने– ‘हामीसँग भएको जुन शक्ति छ । मानव शक्ति छ । स्रोत, साधन छन् । ति सबै चिजलाई सम्भावित ठाउँहरुमा जहाँ बर्खाको कारणले पहिरो जान सक्ने, सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ख्याल गरीकन नजिकैको स्थानहरुमा जनशक्तिका व्यवस्थापन गरेका छौँ र त्यस्ता पहिराहरु हटाएर सडकलाई सुचारु गर्ने र मानिसको आवत् जावत्लाई सहज तुल्याउने त्यसकाममा हामी केन्द्रीत भएर लागेका छौँ । कुनैपनि प्रकारको कमी यस प्रसंगमा रहदैन रहन दिइदैन ।’
उनले बाढी प्रभावितको पुर्नस्थापनको निम्ति बजेटको अभाव नहुने पनि स्पष्ट पारे । उनले भने– ‘जुन प्रकारको बाढीको कारणले,वर्षाको कारणले जुन प्रकारको समस्या भएको छ त्यसमा राहतको, पुर्नस्थापनाको, बाढी नियन्त्रणको प्रश्नहरुमा बजेटको स्रोतको अभाव हुँदैन । हुन दिइदैन भन्ने कुरामा म विश्वास दिलाउन चाहान्छु । कुनैपनि ठाउँको समस्या व्यवस्थापनको निम्ति, समाधानका निम्ति कुनैपनि हिसाबले हामी समस्या हुन दिदैनौँ ।’
गृहमन्त्री पौडेलले डुबानको समस्या समाधान गर्नका लागि भारत सरकारसँग दुई पक्षिय सम्वाद गरेको पनि बताउनुभयो । कुनैपनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् भन्नका लागि र नदी थुनिएर बस्ती डुबानमा नहोस् भन्नका लागि सरकारले हरसम्भव प्रयास गरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘डुबानको समस्यालाई स्थायी रुपमा समाधान गर्नका निम्ति सरकारले दुई पक्षिय सम्वादका अनेकन प्रयासहरुपनि गरिरहेको छ । हाम्रा मेकानिजमहरु पनि छन् । तिनीहरुका विचमा पनि छलफल जारी छ । त्यसकारणले नेपाल कुनैपनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् । नदी प्रणालीहरुको निर्वाध प्रवाहमा व्यवधान भएर नेपाली वस्तीहरु डुबानमा पर्ने र त्यसप्रकारको क्षति बेहोर्ने स्थिति नहोस् भन्नका निम्ति सरकारले आफ्नो तर्फबाट गर्ने कुनैपनि प्रयासहरुमा कुनैपनि प्रकारको कमी रहन दिएको छैन र दिदैनँ ।’
यस वर्षको मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त घरहरुको पुर्ननिर्माण र पुर्नस्थापनाका लागि सरकारले बनाएको कार्यविधि अनुसारको रकम तत्काल दिनकालागि प्रक्रिया अगाडी बढाइएको पनि उनले जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक सोमवार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया