काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
आफूपक्षीय केन्द्रीय सदस्यहरुसँगको भर्चुअल बैठकमा नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकाल्दै वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निचोडमा पुगेको जनाएको छ ।
सो समूहले हालको अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने जनाएको छ ।
आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग नेता नेपालले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने बताएका थिए । नेता नेपालले नयाँ पार्टी गठन गर्न टिमभित्रै समस्या उत्पन्न भएकोले नयाँ आन्दोलन निर्माण गर्न नसकिएको समेत बताएका छन् ।
आफूनिकट जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल बैठकमा नेता नेपालले टिमभित्रै मत बाझिएको जानकारी गराउँदै जिल्ला अध्यक्ष तथा सचिवहरूले तत्काल बोल्ड डिजिसन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघिसकेकाले ओलीसँग मिल्ने सम्भावना नदेखिएको पनि नेता नेपालको तर्क छ । नेता नेपालसँगको छलफलमा जिल्ला नेताहरूले अब अलमल नगरी छिट्टै निष्कर्षमा पुग्न नेता नेपाललाई सुझाव दिएका थिए । जवाफमा नेता नेपालले समूहका केही नेताहरू अझै पनि मिल्न सकिन्छ कि भनेर ओली पक्षसँग वार्तामा बसेकाले निर्णय गर्न कठिनाइ भएको बताउँदै छिट्टै निष्कर्षमा पुग्ने बताएका थिए । उनले केपी ओली नै विभाजनका कारक भएको आरोप समेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया