केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा टिकाउने कि हटाउने भन्नेबाट शुरु भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादले अन्ततः पार्टीलाई फुटको डिलमा पुर्याएको छ ।
जसपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । ठाकुर पक्ष ओलीलाई सत्तामा टिकाउने पक्षमा छ भने यादव पक्ष कुनै पनि हालतमा ओलीलाई समर्थन गर्नु हुँदैन भन्ने पक्षमा छ ।
यस्तै छ, जसपा भित्रको विवाद । एउटाले अर्काेलाई कारबाही गर्ने क्रमले जसपा फुट उन्मुख छ । दुवै पक्षले जेठ ११ को मितिमा एक अर्कालाई स्पष्कीकरण सोधेका छन् । ठाकुरले किन शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको लगायतका ७ बुँदे स्पष्टीकरण यादवलाई सोधेका छन् भने यादवले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको ? विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको लगायतका ७ बुँदे स्पष्टीकरण ठाकुरलाई सोधेका छन् । एक अर्कालाई स्पष्टीकरण सोधिरहेकै बेला ठाकुर पक्ष भने सरकारमा जाने तयारी गरेको छ । ठाकुर पक्षमा नेता डा. सुरेन्द्र झा प्रधानमन्त्री ओलीले मधेश मुद्धा फिर्ता,संविधान संसोधनका लागि कार्यदल गठन र नागरिकता सम्बन्धि अध्यादेश ल्याएपछि पार्टीलाई सरकारमा जाने आधार तयार भएको बताउँछन् ।
उता यादव पक्षका नेता मोहम्मद इस्तियाक राइ भने पार्टी निर्णय विपरित सरकारमा जानेलाई कारबाही हुने बताउँछन् । राइ भन्छन्, “सम्पूर्ण राजनीतिक दलहरु संसद विघटन गरेर असंवैधानिक काम गरेका ओलीको विरोधमा एकजुट भएर लागि रहेका बेला एमालेभित्रको पनि ओली गुटलाई समर्थन गरेर सरकारमा जानु भनेको पार्टीको हित विपरित हो ।”

राइका अनुसार,ओलीसँग दुइतिहाइको सरकार भएका बेला नागरिकता विधेयकलाई संसदमा अघि बढ्न दिएनन् र संविधान संसोधन पनि हुन दिएनन् । अहिले नागरिकता अध्यादेश ल्याएर सरकार टिकाउन खोजेका छन् । पार्टीमा बिवाद बढिरहेका बेला झा र राइको एउटा भनाइ भने समान छ । दुवै जना भरिसक्य पार्टी फुट्नु हुँदैन भन्छन् ।
ओलीले गर्दा जुट्यो,ओलीकै कारण फुट्दै
२०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी (जसपा) नेपाल स्थापना भएको थियो । २०७७ वैशाख ८ मा प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुन अध्यादेश मार्फत् संशोधन गर्ने अध्यादेश ल्याएपछि त्यतिबेला दुवै पार्टी तरंगित भएर ओलीले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई फुटाउन खोजेको भन्दै दुवैले रातारात पार्टी एकता गरेका थिए । उनीहरुलाई यो एकता आफ्नो पार्टीलाई टुक्राउन नदिने आपतकालीन परिस्थितिले सिर्जना गरिदिएको मोड थियो । प्रधानमन्त्री ओलीकै कारण एक हुने मोडमा पुगेको जसपा फेरि ओलीकै कारण फुटको संघारमा पुगेको पुगेको छ ।

जसपा नेता डा झा भन्छन्,“त्यतिबेला ओलीले हामीलाई फुटाउन खोजे । उनको गलत क्रियाकलापलाई हामीले रोक्न पार्टी एकता गर्यौ । तर ओलीले अहिले मधेश आन्दोलन स्वीकारेका छन्, हाम्रा माग पूरा गर्दै जान थालेका छन् त्यसकारण उनलाई समर्थन गर्नुपरेको हो ।”
ओलीमाथि गत वर्ष तत्कालीन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएर सत्ता बलियो पार्न खोजेको आरोप पनि लागेको थियो । नेता राइ पार्टी नफुटोस भन्ने पक्षमा जसपाका सबै नेता कार्यकर्ता रहेका तर ओलीले सत्ता, शक्ति र पैसाको राजनीति गरेका कारण जसपाको एउटा गुटलाई काखी च्याप्दा पार्टी दुर्घटनामा पर्न सक्ने बताउँछन ।
अब मिलन बिन्दु के ?
नेता राइका अनुसार अध्यक्षद्वय ठाकुर र यादवबीच भएको जेठ ४ को सहमति कार्यान्वयन भएमा पार्टी विवाद समाधान हुन्छ । ठाकुर र यादवबीच जेठ ४ मा ८ बुँदे सहमति भएको थियो । जसमा आफ्नै पार्टीको सरकार गठन गर्ने अवसर आए वा राष्ट्रिय सहमतिको सरकार गठन हुने भए अघि बढ्ने नभए प्रतिपक्षमा नै रहने, ओली सरकारलाई समर्थन नगर्ने लगायतका बुँदाहरु समेटिएका थिए ।तर ठाकुर पक्ष त्यस विपरित प्रधानमन्त्री ओलीसँग सत्तामा जानका लागि बार्गेनिङ गर्न गएको राइको भनाई छ । जसले बिवाद बढ्यो । ‘पार्टीको कार्यकारिणी बैठकको बहुमतले ठाकुरलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टीको निर्णय बिपरित सरकारमा गए कारवाही हुन्छ,” राइ भन्छन ।
उता झा भने पार्टीको कार्यकारिणी समितिको बैठक गत पुष ७ यता नबसेको बताउँछन् । र यादवले ठाकुरलाई स्पष्टीकरण सोध्नुले पार्टीमा नेताहरुबीच दुरी बढाएको नेता झाको भनाई छ । उनी भन्छन,“एकल अध्यक्षले हस्ताक्षर गरेका सबै निर्णय खारेज गर्नुपर्यो कि त नयाँ ढंगले अब पार्टी अघि बढाउने गरी निर्णय हुनुपरयो,बिवाद समाधान हुन्छ ।”
सर्वोच्च अदालतले गत फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनको सरकार बन्न नदिन प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षलाई हात लिएका थिए । कुनै बेला नागरिकता,संविधान संशोधन तराई आन्दोलनका मुद्दा फिर्ताका विषयमा सबैभन्दा चर्को आलोचक प्रधानमन्त्री ओली नै थिए ।
विवादकाबीच सरकारमा जाँदै ठाकुर पक्ष
पार्टी भित्र आन्तरिक विवाद चर्किरहेका बेला ठाकुर पक्ष भने ओली सरकारमा जाने तयारी गरेको छ । जसपा श्रोतका अनुसार राजेन्द्र महतो कि शरतसिंह भण्डारी कसको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भन्ने विषयमा महन्थ पक्षको छलफल भइरहेको छ । तर अन्तिममा महतोको नेतृत्वमा नै समझदारी बन्ने बुझिएको छ । महतो,भण्डारी,अनिल झा,उमाशंकर अरगरिया,विमल श्रीवास्तव,रेनुका गुरुङ,चन्द्रकान्त चौधरी लगायत मन्त्री बन्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया